Tuesday, February 23, 2016

किन सुस्ताए लेखक संघहरू ? - - विवश बस्ती


कुनै समय थियो, प्रगतिशील लेखन धार पछ्याउने सर्जकहरूको साझा, गरिमामय र सम्पूर्ण मञ्चको रुपमा प्रगतिशील लेखक संघ (प्रलेस)ले अद्वितीय भूमिका निर्वाह गरेको थियो । राजनीतिक रूपले विभिन्न समूह, विचारधारा र चिराहरूमा विभक्त भए पनि प्रगतिशील लेखन, चिन्तन र मननमा रमाउने स्रष्टाहरूले भने प्रलेसलाई वाम सर्जकहरूको साझा चौतारीको रूपमा विकास गरेका थिए । राजनीति रूपमा अति उग्र र नरम मानिने स्रष्टाहरू पनि प्रलेसको साझापनलाई स्वीकार गर्ने र त्यहीअनुरूप विकास गर्ने रुचि राख्दथे र अहिलेसम्म पनि त्यो क्रम/उपक्रम जारी नै छ । लामो एवं ऐतिहासिक परम्पराबीच स्थापित प्रलेसले विभिन्न विचार र चिन्तन फक्रिने फूलबारीको मान्यताप्रति सदैव जोड दिँदै आएको थियो । समृद्ध इतिहास रचना/निर्माण गरेकै आधारमा भन्नुपर्छ, राजनीतिक तहमा आएका विग्रह, टुटफुट र विभाजनले समय–समयमा प्रलेसलाई प्रभावित तुल्याउन खोजे पनि अन्तत: प्रगतिशील स्रष्टाहरूको सामूहिक मञ्चको रूपमा सदैव स्थापित र एक ढिक्का रह्यो । छ दशकभन्दा लामो आरोह–अवरोह झेलेको प्रलेसलाई एउटा संस्थाको रूपमा मात्र हेर्नु कदापि न्यायोचित ठहरिँदैन । नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायत परिवर्तनमा उल्लेख्य भूमिका खेल्ने प्रगतिशील चिन्तनधारी स्रष्टहरूको यो संस्था केवल संस्थागत रूपमा मात्र उभिएन, एउटा आन्दोलनकै पर्याय बन्न पुगेको सर्वविदितै छ । पञ्चायती निरंकुशतन्त्रका दिनहरूमा होस् वा राष्ट्रियता र सामाजिक आन्दोलन एवम् विभिन्न राजनीतिक परिवर्तनका क्रमहरूमा समेत प्रलेसले आन्दोलनको भूमिका निर्वाह गर्‍यो । प्रलेसको साझा छहारीमुनि आबद्ध सिर्जनकर्मीहरूले हरेक आन्दोलनमा हिस्सा लिए र राजनीतिक परिवर्तनको दिशामा सदैव आफूलाई अब्बल नै राखे । राज्यले आवश्यकताबोध गरेको बेला स्रष्टाहरू अग्रपंक्तिमा रहेर आफ्नो दायित्व निभाउन चाहन्छन् भन्ने मान्यतालाई सदैव स्थापित तुल्याइरह्यो ।
समृद्ध, गरिमामय र लामो इतिहास बोकेको प्रलेस विगत केही वर्षयता भने गतिशून्यताको सिकार हुन पुगेको छ । अरू कुनै उपलब्धिमूलक कामहरू नभए पनि वर्षमा एकाध गोष्ठी गर्ने, प्रगतिशील स्रष्टाहरूलाई समसामयिक मुद्दाहरूमा अग्रसर तुल्याउने र साहित्यिक/सांस्कृतिक चेतना प्रवाहमा अग्रणी भूमिका खेल्नेजस्ता कार्यमा प्रलेसले अग्रता लिँदै आएको थियो । नि:सन्देह, प्रलेसको अगुवाइमा सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा उब्जिएका जल्दाबल्दा समस्या र मुद्दाहरूबारे विचार, मन्थन गर्ने र एउटा स्पष्ट दृष्टिकोण निर्माण गर्ने काम पनि हुँदै आएको थियो । तर, पछिल्ला दिनहरूमा भने प्रलेसको नेतृत्व तहमा रहेका स्रष्टाहरूमा इच्छाशक्तिको कमी भएर हो वा अन्य जिम्मेवारीको भारीले थिचेर हो, प्रलेसलाई गतिशून्यतातिर धकेल्ने काम मात्रै भएको देखिएको छ । यो समग्र प्रगतिशील स्रष्टाहरूका निम्ति र देशका राजनीतिक, सामाजिक अभियन्ताहरूका साथै बुद्धिजीवीहरूका निम्ति समेत चिन्ता र चासोको विषय बनेको छ र यसबाट प्रगतिशील साहित्यिक, सांस्कृतिक आन्दोलनलाई समेत प्रत्यक्ष असर र तीव्र रूपमा घाटा पुग्ने स्वत: देखिएको छ ।
आज नयाँ संविधान निर्माण भएपछि एकातिर उत्साहको माहोल सिर्जना भएको छ । तीन महिनाअघि संविधान जारी भएपछि लामो समयदेखि संक्रमणको मार झेल्दै आएको देशले नयाँ दिशा र गति लिने अपेक्षा सँगालिएको छ । तर, अर्को विन्दुमा भने असन्तुष्टिका स्वरहरू पनि गुन्जिरहेका छन् । खासगरी, तराई–मधेसमा राजनीतिको ठेक्कापट्टा गर्नेहरूले असन्तोषको स्वर उरालिरहेका छन् । देशभित्रै गुन्जि

एका असन्तुष्ट स्वरहरूलाई अझ सघन रूपमा ध्वनियुक्त तुल्याउँदै छिमेकी मित्र राष्ट्र भारतले अघोषित रूपमा नाकाबन्दी लगाएको छ । संविधान जारी भएलगत्तै लगाएको नाकाबन्दीले दैनिक जीवन कष्टकर बन्दै गएको छ । केही महिनाअघि भूकम्पले थङथिलो तुल्याएको नेपालीहरूको मन, मस्तिष्कलाई नाकाबन्दीले झनै जर्जर तुल्याउँदै लगिरहेको छ । यतिबेला राष्ट्रका सामु संकटहरू मात्रै चुलिइरहेका छन् । राष्ट्रले बेहोर्नुपरेको अनेक संकट र त्यस्ता संकटका निर्माणकर्ताहरूप्रति सिर्जनाको तह र माध्यमद्वारा क्षोभ/असन्तुष्टि व्यक्त गर्न संगठित, असंगठित दुवै रूपमा केही स्रष्टाहरूले प्रयत्न नगरेका होइनन् । सडकमा उत्रिएर आवाज बुलन्द नपारेका होइनन् ।
यस्तो बेला, राष्ट्रियताको पक्षमा आवाज उराल्ने र स्रष्टाहरूलाई गोलबन्द तुल्याएर विदेशी शक्तिसामु नझुक्ने प्रण गर्दै स्रष्टाहरूलाई क्रियाशील तुल्याउन प्रलेसजस्ता संस्थाले अगुवाइ गर्नुपर्ने हो, प्रलेसले त्यस दिशामा कदम चाल्नुपर्ने हो । तर, विडम्बना, सुस्ताएको प्रलेसबाट यतिबेला त्यस्तो अपेक्षा राख्नु व्यर्थ देखिएको छ । प्रलेस एक्लैले प्रयत्न गर्ने स्थिति छैन भने प्रजातान्त्रिक लेखन धारमा आबद्ध स्रष्टाहरूको संस्था नेपाली लेखक संघसँग सहकार्य गरेर पनि संकटको बेला लेखकहरू भएको आभास दिन सक्छ । किनकि, विगत ०४६ सालमा बहुदलीय व्यवस्थाको पुन:स्थापनाको आन्दोलन र ०६२/६३ को जनआन्दोलनमा प्रगतिशील र प्रजातान्त्रिक धारका लेखक/कलाकारहरूले संयुक्त रूपमा हातेमालो गर्दै तत्कालीन आन्दोलनहरूमा हिस्सा लिएका थिए र त्यसले आम समुदायमा राम्रो सन्देश समेत प्रवाहित भएको थियो । राष्ट्रले संकट झेलिरहेको वर्तमान समयमा प्रलेसले मात्र नसक्ने हो भने प्रजातान्त्रिक लेखकहरूसँग सहकार्य गरेरै भए पनि आफ्नो गतिविधि देखाउनु आवश्यक ठानिएको छ, यतिबेला । साँच्चै भन्नुपर्दा, लामो इतिहास बोकेको प्रलेसले आफूलाई गतिशून्यताको आहालबाट बाहिर निकाल्न यतिबेला कुनै प्रयत्न नगर्ने हो भने प्रगतिशील आन्दोलनमा लागेका स्रष्टाहरूको मनलाई खिन्न तुल्याउनमा मात्रै बाजी मार्न सक्छ ।

No comments:

Post a Comment