Sunday, November 10, 2019

विभाजनको संघारमा प्रगतिशील लेखक संघ

प्रलेसमा सत्तापक्षमा साथीहरु हुनुहुन्छ : विष्णु भण्डारी

अनलाइनखबर २०७६ कार्तिक २३ गते  प्रकाशित


२३ कात्तिक, काठमाडौं । नेपालका कम्युनिष्टहरुको साझा सांस्कृतिक मोर्चाका रुपमा स्थापित प्रगतिशील लेखक संघ (प्रलेस) विभाजनको संघारमा पुगेको छ । प्रलेसभित्र सत्तापक्ष र प्रतिपक्षको वैचारिक धु्रवीकरण तीव्र बनेको छ ।

साठी वर्ष पुरानो इतिहास बोकेको प्रगतिशील लेखक संघ २०४४ सालमा वामपन्थी लेखकहरुको साझा मोर्चाका रुपमा पुनगर्ठित भएको हो । अहिले यो संगठनमा पूर्वएमाले, पूर्वमाओवादी र मसाल समर्थित लेखकहरु समावेश छन् ।

अघिल्लो १० औं राष्ट्रिय सम्मेलनबाटै चर्केको विचारधारात्मक द्वन्द्व ११ औं राष्ट्रिय सम्मेलनमा जीवेन्द्र देव गिरीको नेतृत्वसम्म आइपुग्दा विभाजनकै तहमा पुग्न लागेको छ ।

काठमाडौंमा प्रलेसको ११ औं राष्ट्रिय सम्मेलनका बेला ८० प्रतिशत सदस्यहरुलाई नवीकरण र सम्मेलनबारे पत्तै नदिई २० प्रतिशतले मात्रै सम्मलेन गरेको भन्दै गत चैत्रमै ३८ जना लेखकहरुले संयुक्त वक्तव्य जारी गरेका थिए । अहिले असन्तुष्टहरुले नयाँ विकल्पमा लागि गृहकार्य गरिरहेको प्रलेसका पूर्वनेताहरु बताउँछन् ।

तत्कालीन माओवादीसमर्थित अखिल नेपाल लेखक संघका केन्द्रीय नेता एवं प्रलेसका पूर्वकोषाध्यक्ष विष्णु भण्डारी अब प्रलेसको औचित्य सकिएको बताउँछन् । अहिले प्रलेसको विकल्पमा नयाँ सांस्कृतिक मोर्चा निर्माणका लागि अवधारणामा काम भइरहेको भण्डारीले जानकारी दिए ।

यसै सन्दर्भमा हामीले भर्खरै ‘सुनको पहाड’ उपन्यास लेखेका प्रगतिशील लेखक भण्डारीसँग प्रलेस छाडेर दुईवर्ष अगाडि नै तपाईले ‘समाजवादी लेखक संघ’ किन खोल्नुभएको थियो भनेर प्रश्न गर्‍यौं । साथै हामीले भण्डारीसँग पशुपति शर्मा र भिटेनका बारेमा पनि सोध्यौं ।

भण्डारीसँग अनलाइनखअबरले गरेको कुराकानी-

यहाँले करिब २ वर्ष पहिले नै नेकपा माओवादी केन्द्र, उसको सांस्कृतिक मोर्चा र प्रलेस छाड्नुको कारण के थियो ?

प्रलेस एउटा युगको सांस्कृतिक आन्दोलनको अगुवाइ गरेको संगठन हो । यसको अवधारणामै के प्रष्ट छ भने साम्राज्यवाद र सामन्तवाद विरोधी कला साहित्यको जगेर्ना गर्ने । तर, अहिलेसम्म आइपुग्दाखेरि सामन्तवाद धरासायी भएको अवस्थामा अब प्रलेसको अवधारणामा पुनर्मुल्यांकन गर्नुपर्छ भन्ने मेरो भनाइ थियो । हिजैको मूल्यांकनले मात्र अब प्रलेस अगाडि बढ्न सक्दैन । जुन उद्देश्यका लागि यसको स्थापना गरिएको थियो, त्योमध्ये एउटा काम पूरा भयो, अब नयाँ कामका लागि नयाँ अवधारणाको निर्माण गर्नुपर्छ भन्ने मेरो धारणा थियो ।


मेरो अर्को भनाइ के थियो भने प्रलेस स्थापनाका बेला राजनीतिक पार्टीको कोटाबाट निर्माण गर्ने भन्ने थिएन । तर, पछिल्लो चरणमा आइपुग्दा प्रलेस पार्टीका सदस्यहरुको मात्रै लेखक संघ भयो । पार्टी बाहिरका प्रगतिशील लेखकलाई ढोका बन्द गरिएको मैले कार्यकारी ठाउँमा गएर काम गर्दाखेरि महसुस गरें ।

अहिले प्रलेसमा जानका लागि राम्रो, प्रगतिशील लेखक हुनुपर्दैन, पार्टीको कार्यकर्ता भए पुग्छ भन्ने अवस्था सिर्जना भएपछि मैले यसको संगठनात्मक संरचनाको कुरा पनि उठाएँ ।

यीनै दुईवटा सैद्धान्तिक र सांगठानिक प्रश्नहरु उठाउँदै अबको प्रगतिशील सांस्कृतिक आन्दोलनको नेतृत्व यो प्रलेसले गर्न सक्दैन र अब प्रलेसको औचित्य छैन भनेर मैले घोषणा गरें । त्यसपछि म माओवादी पार्टीको सांस्कृतिक मोर्चाबाट अलग भएको केही समयपछि प्रलेसबाट अलग भएको हुँ । मैले त्यत्तिकै रुञ्चे भएर, आँशु बगाएर प्रलेस छाडेको होइन ।

तपाईले प्रलेसमाथि लगाएका आरोपहरु अहिले २ वर्षपछि फर्केर हेर्दा प्रमाणित भए त ?

एकदमै पुष्टि भएको छ । अहिले जीवेन्द्रजी पार्टीकै कोटा, एमालेबाट प्रलेसको अध्यक्ष हुनुभएको छ । महासचिव मसालबाट हुनुहुन्छ । केन्द्रीय नेतृत्व दलको कोटाबाटै छ । सबै दलहरुवीच भागवण्डा छ । एमाले, माओवादी र मसालका एकै ठाउँमा हुनुहुन्छ । विप्लव र मोहन वैद्य किरणको पार्टीका लेखकहरु चाहिँ प्रलेसबाट अलग हुनुहुन्छ ।

यसको ११ औं सम्मेलनपछि अरु स्वतन्त्र साथीहरु पनि प्रलेसबाट अलग भइसक्नुभएको छ । यसले गर्दा हामीले दुई वर्ष पहिले भनेका कुराहरु पुष्टि भएका छन् । अहिलेको प्रलेसमा सत्तापक्षका मात्रै साथीहरु हुनुहुन्छ । त्यसैले अब यो संगठन प्रगतिशील रहेन भन्ने हो मेरो भनाइ ।

पार्टीका नेताहरुले आँखा छोपिने गरी माला लगाएका छन्, त्यसलाई प्रलेसका लेखकले तपाईले ठीक गर्नुभएछ नभनेसम्म राम्रो व्यवहार हुँदैन । देख्दादेख्दै महराजीको काण्ड बाहिर आइसक्यो

हामीले त्यतिखेरै प्रलेसको पुनःव्याख्या गर्नुपर्छ, नयाँ अध्ययन गर्नुपर्छ भनेर घोषणा गरेको २ बर्ष पछाडि त्यो पुष्टि भयो । मलाई खुसी केमा लाग्यो भने मैले जे उठाएको थिएँ, म गलत थिइनँ ।

मैले लेख्दै, बोल्दै गएँ र मलाई विस्तारै धेरै साथीहरुले सपोर्ट गर्नुभयो । मेरो भनाइ पुष्टि हुँदै गयो । ११ औं सम्मेलनमा स्वतन्त्र स्रस्टाहरु बाहिर निस्कनुभयो ।

म त्यहाँबाट बाहिर निस्केपछि मैले बोलेको कुरामा तत्कालीन अध्यक्ष मात्रिका पोखरेलजीले के भन्नुभयो भने पटक-पटक प्रलेसलाई गाली गर्ने धेरै साहित्यकारहरु राजावादी भए ।

तर, सत्तापक्षबारे हाम्रो प्रष्ट बुझाइ के हो भने सत्तारुढ नेकपा सही कम्युनिस्ट पार्टी होइन । हिजो माओवादीले हजारौको बलिदानपछि र जनताको ठूलो त्यागपछि सैद्धान्तिकरुपमा कता गएको छ, प्रष्ट देखिएको छ । पार्टी सत्तामा जाँदैमा त्यहाँ किन केही पनि परिवर्तन ल्याउन सकेन ? सत्तामा गएर प्रगतिशील हुने भनेदेखि यो कुराहरुलाई लागु गर्न पनि त सक्नुपर्‍यो नि ।

के प्रलेसमा रहेका लेखकले सत्ताको आलोचना नै गरेका छैनन् त ? त्यहाँ आलोचनात्मक चेत नै सकियो भन्न मिल्छ ?

पछिल्लो चरणमा आइपुग्दा के देखिन्छ भने, जस्तो – गोहीको आँशु भन्छन् नि, लेखक हुनुका नाताले केही आलोचनात्मक हुनपर्छ है भनेर प्रलेसले प्रेस विज्ञप्तिसम्म जारी गर्ने गरेको छ ।

तर, विज्ञप्ति जारी गर्नु र व्यवहारिकरुपमा प्रगतिशील काम गर्नु फरक कुरा हो । प्रगतिशील आन्दोलन भनेको त जहिले पनि सत्ताको प्रतिपक्ष भएर काम गर्ने हो । अहिले प्रलेसले त्यसो गर्ने सम्भावना देखिँदैन भन्ने हाम्रो मूल्याङ्कन हो ।

www.onlinekhabar.com बाट साभार 



No comments:

Post a Comment