Saturday, August 6, 2016

जब पोलिटब्युरोले लेखक संघको नेतृत्व बनाउँछ र लेखकले विवेक बन्धक राख्छ - खगेन्द्र संग्रौला


जब पोलिटब्युरोले लेखक संघको नेतृत्व बनाउँछ र लेखकले विवेक बन्धक राख्छ
म पनि प्रगतिशील भएँ !
यस कार्यक्रमका उद्घोषक मित्र मित्रलाल पंज्ञानी अन्तर्यामी हुनुहुन्छ क्यार । त्यसैले त उहाँलाई र सायद प्रलेसका अन्य मित्रहरूलाई लागेछ— खगेन्द्र संग्रौला सम्मान ग्रहण गर्न आउला र ? मित्रलालजीहरुले कल्पना गर्नुभएजस्तै यसमा मेरा पनि दुविधा थिए । प्रलेसले मलाई सम्मान गर्नु प्रलेसका लागि एउटा विचलन हो र मेरा लागि एउटा दुर्घटना हो । यो विचलन र दुर्घटनाको कल्पना मेरो मनको कुनै कुनामा पनि थिएन । तैपनि यो घटित भयो र म दुविधाबीच तपाईंहरू समक्ष उपस्थित भएको छु ।
प्रगतिशील लेखक संघ मेरो पनि मातृसंस्था हो । श्यामप्रसादजीको नेतृत्वमा २००९ सालमा यसको स्थापना भयो । श्यामजीले लेखक संघको शिलान्यास गरेर हाम्रो लागि उभिने चौतारी बनाइदिनुभयो । र, प्रगतिशील लेखनको वैचारिक जग बसाल्ने कृतिका रुपमा ‘लेखक कसरी बन्ने ?’ र ‘तँ, तिमी, तपाईं, हजूर’ हामीलाई उपहार दिनुभयो । यो लेखकीय चौतारी मेरा लागि अत्यन्तै प्रिय छ । जीवनको यात्रामा मानिसलाई अगाडि डोर्‍याउने विचारहरू हुन्छन्, र व्यक्तिहरू पनि हुन्छन् । मलाई लाग्छ, तिनका प्रति हामीमा कृतज्ञता हुनुपर्छ । तिनले यात्राको प्रारम्भिक गोरेटो कोरिदिए र त्यही गोरेटोमा टुकुटुकु हिँड्दै हामी यहाँ पुगेका हौँ । 
तपाईं प्रगतिशील लेखक संघको सदस्य बन्नुस्, तपाईंलाई प्रगतिशीलताको प्रमाणपत्र स्वतः प्राप्त भइहाल्छ । यो पदेन प्रगतिशीलता हो ।
अँ, जब सम्मान गर्न मलाई निम्ता गरियो, म त्यसैत्यसै विस्मित भएँ । मैले आफैलाई सोधेँ– प्रगतिशील लेखक संघले मलाई सम्मान गर्न मसँग प्रगतिशीलताको आधिकारिकता के छ ? म आफूलाई लेखक ठान्छु, यो सत्य हो । म लेखक हुँ भन्ने कुरामा मलाई र अरु धेरैलाई शायद दुविधा छैन । तर, म कस्तो लेखक हुँ ? म प्रगतिशील लेखक हुँ कि बुर्जुवा लेखक ? म क्रान्तिकारी लेखक हुँ कि प्रतिक्रियावादी लेखक ? म निष्ठावान् हुँ कि विचलनवादी लेखक ? मलाई थाहा छैन । यी कुराको निरूपण कसले गर्छ, मलाई त्यो पनि थाहा छैन ।
हामीकहाँ प्रगतिशील लेखक बन्न बडो सजिलो छ । तपाईं कम्युनिस्ट पार्टीको सदस्य बन्नुस्, तपाईंलाई प्रगतिशीलताको आधिकारिकता स्वतः प्राप्त भइहाल्छ । तपाईंको चिन्तन र सिर्जनामा प्रगतिशीलता हुनुपर्छ भन्ने केही छैन । तपाईं प्रगतिशील लेखक संघको सदस्य बन्नुस्, तपाईंलाई प्रगतिशीलताको प्रमाणपत्र स्वतः प्राप्त भइहाल्छ । यो पदेन प्रगतिशीलता हो । मसँग प्रगतिशीलताका यी दुवै पदेन प्रमाणपत्र छैनन् । तथापि बडो उदारतासाथ सम्मानित हुन मलाई निम्ता गरियो । प्रगतिशील लेखक संघको यो उदारताप्रति म कृतज्ञ छु ।
वृद्धाश्रमजस्तो प्रलेस
pralesa

यहाँ आउनुअघि प्रगतिशील लेखक संघ अहिले कुन अवस्थामा छ, यसको चिन्तन प्रवृत्ति र सिर्जन सामथ्र्य के कस्तो छ यसबारे जान्न मलाई खुल्दुली भयो । संयोगले प्रलेसको मुखपत्र ‘प्रलेस–०७१’ मलाई प्राप्त भयो । मैले गहिरो ध्यान र प्रेमपूर्वक यसको पहिलो शब्ददेखि अन्तिम शब्दसम्म पढेँ । यो पढेपछि प्रगतिशील लेखक संघको अवस्था, यसको वृत्त, यसका चिन्तन प्रवृत्तिहरू, यसको सिर्जनात्मक सामथ्र्य र यसको दिशाबारे मलाई केही जानकारी भयो ।
तपाईंहरु प्रगतिशील लेखक संघको राष्ट्रिय सम्मेलनमा हुनुहुन्छ । यो सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । र, आगामी कार्यकालका निम्ति कार्यक्रम पनि तय गर्नेछ । त्यसैले ‘प्रलेस’को यो मुखपत्र पढेपछि प्रलेस मलाई कस्तो लाग्यो, यससम्बन्धी मेरा टिप्पणी तपाईंहरूका लागि उपयोगी हुन सक्लान् । उपयोगी नै नभए पनि तपाईंहरुलाई कमसेकम प्रलेसद्वारा सम्मानित व्यक्तिको रायको जानकारी हुनसक्छ । यो जानकारी सम्मान सर्वथा गलत ठाउँमा परेछ भन्ने पछुतोको कारकचाहिँ नबन्ला भन्ने मेरो आशा छ ।
यो मुखपत्र ‘प्रलेस’ पढिसकेपछि मलाई भएको सबैभन्दा पहिलो अनुभूति के हो भने प्रगतिशील लेखक संघ ज्यादै बूढो भएछ । तपाईंहरूबाट सम्मानित हुन पाएको यो क्षणमा मैले कुरा नलुकाई, कुरा नचपाई आफूलाई लागेको कुरा बोल्नुपर्छ । मेरा कुरा तपाईंहरुलाई मन पर्लान् वा मन नपर्लान्, त्यो तपाईंहरुको आफ्नो मामिला हो । यहाँ कर्णप्रिय सुनिने गरी मलाई तपाईंहरुलाई नक्कली कुरा भन्नु छैन ।

के भाषा, शैली र प्रस्तुतिको परिमार्जनमा ध्यान दिँदा कार्ल मार्क्सले तपाईंलाई दण्डित गर्छन् ?
हो, तपाईंहरुको यो मुखपत्र मैले बडो ध्यान र प्रेमले पढेँ । यो पढ्दै जाँदा पन्नैपिच्छे मेराअगाडि बूढो प्रगतिशील लेखक संघ प्रकट हुँदै गयो । र, यसका अधिकांश लेखकचाहिँ मलाई वृद्धाश्रमको साँगुरो वृत्तका अरसिक कैदीजस्ता लागे । मेरा यी टिप्पणी तपाईंहरुलाई बडो आपत्तिजनक लाग्लान् । तर के लाग्छ, मलाई लागेको यही हो । पाठकको चित्तमा पठन–सामग्रीको चरित्रअनुरुपका प्रतिक्रिया पैदा हुन्छन् । यद्यपि, यो प्रतिक्रियामा पाठकको निजी दृष्टि, रुचि र विचारप्रवृत्तिको छाप पनि अवश्य परेको हुन्छ ।
भानुभक्तै किन ?
प्रलेसको यो मुखपत्रमा मुख्यतः भानुभक्तमाथि विमर्श गरिएको छ । भानुभक्तमाथि मात्रै ४९ पेजको विमर्श छ । वागमतिको पुलमुनि धेरै पानी बगिसकेको छ र समय धेरै अगाडि बढिसकेको छ । यो विमर्श पढ्दा मेरो मनमा स्वाभाविक प्रश्न उठ्यो— अझै पनि प्रगतिशील लेखक संघ भानुभक्तकै वरिपरि घुमिरहन किन अभिशप्त छ ? भानुभक्तमा के त्यस्तो सम्मोहक जादू छ, जसले गर्दा भानुभक्तको नाम हामीले जपिरहनुपर्छ, कार्यपत्र लेखिरहनुपर्छ, टिप्पणी गरिरहनुपर्छ, समयको अपव्यय गरिरहनुपर्छ र पान्नाहरु भरिरहनुपर्छ?
भानुभक्तबारे पर्याप्त लेखिएको छ । रामकृष्ण शर्मा, ज्ञानमणि नेपाल, गोविन्द भट्ट, मोदनाथ प्रश्रित, निनु चापागाईं आदिका भानुभक्तमाथिका विवेचना पढेपछि भानुभक्तबारे थप पढिरहनु पर्दैन । यी विवेचकमध्ये कसको वा कसको दृष्टिकोण र निरुपण ग्रहण गर्ने भन्ने पाठकविशेषको आ–आफ्नै कुरा हो । र नै त भनिन्छ— कुण्ड–कुण्ड पानी, मुण्ड–मुण्ड बुद्धि । तैपनि प्रगतिशील लेखक संघलाई परिक्रमा गर्न भानुभक्तै चाहियो ? व्यक्तिकेन्द्री विमर्श नै गर्ने हो भने पारिजातमाथि गर्न सकिँदो हो, गोविन्द भट्टमाथि गर्न सकिँदो हो । प्रगतिवादले जीवित व्यक्तिमाथि विमर्श गर्न अनुमति दिन्छ भने निनु चापागाईंमाथि गर्न सकिँदो हो । निनु चापागाईंको सौन्दर्यचिन्तनमाथि यसरी विमर्श गरिएको भए त्यसको बृहत् वृत्तमा भानुभक्त पनि पर्दा हुन्, विमल निभाहरु पनि पर्दा हुन् ।
डाक्टर प्रत्यूष वन्तको थेसिसमा नेपालको वीरगाथा र भक्तिगाथाको जुन गम्भीर विवेचना छ, त्यसलाई नेपालीमा अनुवाद गर्ने हो भने भानुभक्तीय चिन्तन र सिर्जन प्रवृत्तिको चुरो कुरो बुझिन्छ । त्यसैले भानुभक्तको चयन प्रगतिशील लेखक संघको अतीतमुखी मोह, एक नोस्टाल्जिया हो कि जस्तो मलाई लाग्यो । नेपाली समाजमा यति धेरै अन्तरविरोध छन्, यति धेरै समस्या छन् । लेख्नका लागि, सोच्नका लागि यति धेरै सामग्री छन् । तैपनि मियो वरिपरि साँगुरो वृत्तमा बूढो गोरु नित्य घुमेझैँ भानुभक्तीय मियो वरिपरि प्रगतिशील लेखक संघले किन घुम्नु परेको होला ? पेलिसकिएको जर्जर पीना पेलेर तेल आउँदैन ।
बाँझो फूलबारीको डिलका उपदेशकहरु
pralesa-2

यो ‘प्रलेस’ भन्ने पत्रिकामा केही शास्त्रीय कुरा छन्, केही अर्ती–उपदेश छन् । यसमा कविताका लक्षण, आख्यानका विशेषता र मार्क्सवादी सौन्दर्यका मानकबारे थुप्रै लेख छन् । यी लेख प्रोफेसरहरूबाट लेखिएका छन्, डाक्टरहरूबाट लेखिएका छन् । यी सामग्री पद्दै जाँदा मलाई लाग्यो— यी गुरुजीहरुका मास्टरहरुका लेखोट हुन् । क्याम्पसमा पढाउने मास्टरसँग मस्तिष्कमा वा कापीमा ‘नोट’ त यसै पनि हुन्छन् नै । यहाँ कक्षामा विद्यार्थीलार्ई पढाएका ‘नोट’बाट टाक्क–टुक्क केही कुरा लेखिएको छ । मार्क्सवादी दर्शन र मार्क्सवादी सौन्दर्यशास्त्रबारे हिन्दीमा पर्याप्त पुस्तक उपलब्ध छन् । हामीमध्ये धेरै ती पुस्तक पढ्न सक्छौँ । आवश्यकता र प्रासङ्गिकता हेरी हामी तीमध्ये कतिपय सामग्री अनुवाद गर्न पनि सक्छौँ । यहाँ लेखिएका चिज तिनै सामग्रीका भद्दा भाषाटीकाजस्ता छन् । यी न गम्भीर छन्, न प्रासंगिक छन्, न रुचिकर छन् । यिनले तपाईंलाई कुनै उद्दीपन, कुनै प्रेरणा, कुनै प्रकाश दिँदैनन् । यी निरस स्रेस्ता यथार्थका जीवन्त र रङ्गीन प्रक्रियाबाट विमुख भएका थकित र अलगाउ अवस्थामा रहेका वृद्धहरुका लेखजस्ता लाग्छन् । 
लेखक र संघको सत्तामा विलय लेखन स्वतन्त्रताको पूर्ण परित्याग हो । जो यसो गर्छ, ऊ लेखक होइन, लेखनदास बन्छ ।
यसमा अर्का एकथरी अजीवका लेखहरु छन् । यी जीवन निरपेक्ष अर्ती–उपदेश हुन् । यी लेख पढ्दा एउटा विचित्रको तस्बिर आँखाअगाडि आउँछ । एउटा ज्ञानी उपदेशक छ । ऊ फूलबारी अगाडि उभिएको छ । फूलबारी बाँझो छ । खनीखोस्री गरिएको छैन । बाँझो फूलबारीको डिलमा उभिएर ऊ दिव्य मन्तव्य दिन्छ– फूलको बिरुवा कसरी रोप्ने ? मलजल कसरी गर्ने ? कसरी ढकमक्क फूल फुलाउने ? आदि । तर बगैँचाको बाझो फोर्न ऊ सिन्कोसम्म पनि भाँच्दैन । उसले न फूल रोप्छ, न पानी हाल्छ, न गोडमेल गर्छ । ऊ त केवल फूल फुलाउने मन्तव्य दिइरहन्छ ।
कार्ल मार्क्स भन्छन्– आजसम्म दार्शनिकहरूले जगतको विवेचनामात्रै गरिरहे, गर्नुपर्ने गाँठ्ठी कुरो त संसार फेर्नु पो हो । खै हाम्रा पदेन प्रगतिशील उपदेशकहरुले यो मार्क्सवाणी सुनेका ?
भाषाशैली र प्रस्तुतिको हरिबिजोक
अब भाषाशैली र प्रस्तुतिका कुरा गरौँ । आज बजारमा पढ्नका निम्ति विविध किसिमका सामग्री उपलब्ध छन् । अभिव्यक्तिका विविध शैली र बान्की उपलब्ध छन् । पठन आनन्ददायी नभए लेखनको विषय जतिसुकै समृद्ध र प्रासङ्गिक किन नहोस्, पाठकले पढिभ्याउँदैन, बीचैमा छाडिदिन्छ । यी लेख पढ्दा लाग्छ— प्रायः लेखकलाई भाषाशैलीको कुनै चिन्ता छैन । भोजनमा मानिसलाई मीठो–मसिनोको तृष्णा हुन्छ । साहित्य–कलामा पनि कुरा उही हो । लेखनमा समृद्ध विषयसँगै शैलीगत आकर्षणको जादू छैन भने अनिकालको अन्न खाएर कसैले पनि तपाईंको पट्यारलाग्दो लेख किन पढ्छ ? के प्रगतिशीलता सुन्दर शैलीको शत्रु हो ?
म इतिहासको त्यो कालखण्डमा हुर्किएँ, जुन बेला नेपालीमा पढ्नका लागि थुप्रै सामग्री थिएनन् । मैले नेपाली भाषाको भण्डारमा उपलब्ध सबै चिज पढेँ । मैले हनुमान चालिसा पढेँ, सत्यनारायणको कथा पढेँ, भानुभक्तको रामायण पढेँ । ती सबै मैले किन पढेँ भने पढ्ने चिज धेरै थिएनन् । आज पढ्ने चिजको विविधता छ । बहुलता छ । यो विविधता र बहुलताको प्रतिस्पर्धामा तपाईंले आफ्नो रचनालाई कलात्मक विधिले प्रशोधन गर्नुभएन भने, त्यसलाई सुन्दर र मनमोहक बनाउने यत्न गर्नुभएन त्यो पढिँदैन । के भाषा, शैली र प्रस्तुतिको परिमार्जनमा ध्यान दिँदा कार्ल मार्क्सले तपाईंलाई दण्डित गर्छन् ? कार्ल मार्क्सका ग्रन्थहरूमा दण्डव्यवस्था मैले कहीँ पनि पढेको छैन । मार्क्सका लागि शेक्सपियर किन अति प्रिय थिए ? कथ्यको अतिरिक्त भाषाको कालिगढी र जादूका लागि होइन ? 
Khagendra-Sangraul
यस मुखपत्रका अधिकांश लेखक आफ्नो वरिपरि एउटा साँगुरो वृत्तको लछुमन रेखा निर्माण गर्छन् । यी सब पदेन प्रगतिशील हुँदै हुन् । हातहातमा प्रगतिशीलताको आधिकारिक प्रमाणपत्र छँदैछ । यी प्रगतिशील अधिकारीहरु मलाई अख्तियारका अधिकारीजस्ता लाग्छन् । । आफ्नो लघुवृत्तभन्दा बाहिरका लेखकहरुमाथि अख्तियारले झैँ अभियोग लगाउँछन् । फलानो संशोधनवादी, फलानो मिहीन संशोधनवादी, फलानो बुर्जुवा, फलानो आत्मविज्ञापनवादी, अनि फलानो, अनि फलानो.. । वृहत्तर समाज त बाहिर छ । कम्युनिस्ट पार्टीबाहिर, प्रगतिशील लेखक संघबाहिर । मेरो विचारमा लेख्नुको अर्थ आफूसँग पहिल्यै सहमत भएकाहरूलाई सम्बोधन गर्नु होइन । साँच्ची नै लेख्नु त त्यो वृहत्तर पाठकगणका लागि लेख्नु हो, जो आफूसँग सहमत छैनन् । विचार वा कलाको फाँटमा हस्तक्षेप गर्नु भनेको के हो ?
साहित्य र सत्ताबीचको दूरी
साहित्य र सत्ताको सम्बन्धबारे प्रगतिशील लेखक संघसँग मेरा गम्भीर असहमति छन् । मेरो विचारमा प्रगतिशील लेखक संघको नेतृत्व पोलिटब्युरोले बनाउँदैन । प्रगतिशील लेखक संघको नेतृत्व विवेकवान्, जागरुक लेखकहरूले बनाउँछन् । तर, हाम्रो नेतृत्व कसले बनाउँछ ? पोलिटब्युरोले । पोलिटब्युरोले लेखक संघको नेतृत्व बनाउँछ र लेखकले ब्यूरोसमक्ष आफ्नो आलोचनात्मक विवेक बन्धक राख्छ ।
लेखक स्वत्वयुक्त लेखक रहन र लेखक संघ स्वायत्त लेखक संघ हुन सत्ताबाट निश्चित दूरीमा बस्नुपर्छ भन्ने मलाई लाग्छ । लेखक र संघको सत्तामा विलय लेखन स्वतन्त्रताको पूर्ण परित्याग हो । जो यसो गर्छ, ऊ लेखक होइन, लेखनदास बन्छ ।
अपेक्षा होइन, आशा
म आफ्ना यी सबै विचारमा तपाईंहरुको सहमतिको अपेक्षा गर्दिनँ । म केवल आशा गर्छु— मेरो विचारमा केही प्रासंगिकता भए यो महासम्मेलनले ग्रहण गरिदिने छ ।
अन्त्यमा, प्रगतिशील लेखक संघलाई धन्यवाद । आजदेखि म पनि प्रगतिशील भएँ !
(प्रगतिशील लेखक संघको सम्मान कार्यक्रममा दिएको मन्तव्यको लेखक स्वयंद्वारा सम्पादित र परिमार्जित संस्करण) - सोमबार, बैशाख ६, २०७३
http://esamata.com बाट साभार 

No comments:

Post a Comment