Wednesday, January 25, 2017

सुन्दर प्रजापतिको प्रगतिशील लेखक सङ्घलाई कडा प्रश्न (खुल्लापत्रको पूर्ण विवरणसहित)

प्रगतिशील लेखक संघको अहिलेको वर्तमान नेतृत्वले मोदनाथ प्रश्रित, राजेन्द्र सुवेदी, महादेव अवस्थी, केशव सुवेदी, रमेश शुभेच्छुक, बाबा बस्नेत, यादव भट्टराई, यशोदा अधिकारी, बालिका गिरी आदि मार्काका छद्म प्रगतिशीलहरुलाई कार्बाही गर्ने आँट गर्न सक्नुपर्छ ।

प्रगतिशील लेखक सङ्घलाई खुल्लापत्र
श्री अध्यक्ष / महासचिवज्यू
प्रगतिशील लेखक सङ्घ, नेपाल
केन्द्रीय समिति ।
केही दिनअघि प्रगतिशील लेखक सङ्घ, नेपालका अध्यक्ष / महासचिवको हस्ताक्षर भएको एउटा नेपालको साहित्यिक क्षेत्रलाई तरंगीत बनाउने एउटा प्रेस – विज्ञाप्ति नेपालका सञ्चार माध्यमहरुबाट प्रकाशित भयो । आफ्नो लेखकीय स्वाभिमान र गरिमालाई भुलेर कथित मूल्यहीन पुरस्कार, पदक र सम्मानको मोहमा प्रतिबद्ध स्रष्टाहरू फस्नु हुँदैन भनेर त्यो त्यो प्रेस – विज्ञाप्तिले एउटा सन्देश प्रवाहित गर्यो ।
त्यसपछि साहित्यकारहरु दुई ध्रुवमा विभाजित भए र आ-आफ्ना टिप्पणीहरु सार्वजनिक गरे । त्यो स्वाभाबिकै थियो । प्रगतिशील लेखक सङ्घ आफ्नो मूल्य र मर्यादामा स्थापित भएको संगठन थियो । साहित्यमा मूल्यहीनता बढिरहेको यो बेलामा प्रलेसको त्यो बक्तब्यले हामीजस्ता धेरै युवाहरुमा एउटा उत्साहको लहर पनि प्रदान गर्यो । प्रलेसलाई मैले थप सल्लाह दिने पनि कोशिस गरें , फेसबुकको टिप्पणि मार्फत र अध्यक्षज्यूलाई टेलिफोन मार्फत पनि ।अध्यक्षज्यूले मेरो सल्लाहलाई ठिक ढंगले ग्रहण गर्न सक्नु भएन । अझ नइका बारेमा मैले लेखेको टिप्पणि पनि अध्यक्षज्यूले पचाउन सक्नुभएन र हटाउनु भयो ।
मलाई लाग्छ , प्रलेसभित्र भएका उत्साही साथीहरुको ठुलो दबाबलाई झेल्न नसकेर एउटा निम्छरो वक्तब्य दिएर प्रलेसले झारा टारेको थियो । अध्यक्षज्यूले प्रगतिशील लेखक सङ्घको आन्तरिक संरचनालाई तपाईंले धेरै राम्रोसंग बुझ्न सक्नुभएन भन्नुभयो र यो संस्थामा केही जटिलताहरु छन् छन् भन्नुभयो । मैले प्रगतिशील लेखक संघको अहिलेको वर्तमान नेतृत्वले मोदनाथ प्रश्रित, राजेन्द्र सुवेदी, महादेव अवस्थी , केशव सुवेदी , रमेश शुभेच्छुक, बाबा बस्नेत, यादव भट्टराई, यशोदा अधिकारी , बालिका गिरी आदी मार्काका छद्म प्रगतिशीलहरुलाई कार्बाही गर्ने आँट गर्न सक्नुपर्छ भन्ने मैले टेलिफोनमा सल्लाह दिंदा यहाँभन्दा अघि बढ्न सकिदैन र बढ्न खोज्यो भने प्रलेस फुट्छ भनेर अध्यक्षले लाचारी प्रकट गर्नुभयो ।
उनीहरुलाई प्रलेसमा राखेर प्रलेस अब कसरी ज्यूँदो संस्था कायम रहन सक्छ ? यो अब हामी सबैले दिमाग खियाउने विषय हो । अझ यशोदा अधिकारी र बालिका गिरीलाई नरेन्द्रराज प्रसाईले प्रलेसका बिरुद्धमा बारेमा बोल्नै लगाएको देखियो । यो स्तरका मान्छेहरु एकातिर प्रलेसमा छन् ।
अर्कोतिर हिजो २०७३ साल पुस २९ गते बाबा बस्नेत अध्यक्ष भएको देशभक्त गणतान्त्रिक मञ्च भन्ने संस्थाले कथित पदक र सम्मानको अर्को एउटा नइलाई बिर्साउने यस्तै मूल्यहीन कार्य गरेको समाचार प्रसारण भयो । नइ र यो संस्थाको काम र गतिविधिमा कतै अन्तर देखिदैन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमका बारेमा प्रलेसले बोल्नुपर्छ र त्यस्ता पदक र सम्मान बहिष्कार गर्न पनि प्रलेसले आग्रह गर्नसक्नुपर्छ ।
सुन्दर प्रजापती
sundarprajapati@gmail.com

http://www.janapati.com बाट साभार 

No comments:

Post a Comment