Thursday, April 11, 2019

प्रलेस अहिले पनि साझा मोर्चा हो : जीवेन्द्रदेव गिरी


प्रगतिशील लेखक संघ (प्रलेस) विभाजनको संघारमा पुगेको वेला अध्यक्ष हुनुभयो । अबको प्रलेस कस्तो हुन्छ ?
यो निरन्तर इतिहास बोकेर आएको संस्था हो । भोलि पनि प्रलेस एक भएर जान्छ भन्ने विश्वास छ । सामान्य केही असमझदारी भए होलान्, तिनलाई बिस्तारै हटाउँदै जानुपर्छ । अहिले बाहिर बस्नुभएका साथीहरूसँग हामी बहस चलाउँछौँ । कुराकानी भइरहेकै छ । हाम्रा समस्या साझा छन् । सबै मिलेर नै मुलुक रूपान्तरणका लागि काम गर्नुपर्ने हुन्छ । हरेक समूह अलग–अलग भएर बस्दाका अप्ठ्यारा हामीले विगतमा पनि भोगिसकेका छौँ । त्यसो हुनाले म एकदम आशावादी छु, हामी फेरि पनि मिलेर अघि बढ्छौँ । 
प्रलेस वैचारिक रूपमा मार्क्सवाद मान्ने लेखकहरूको संस्था थियो । यसपटकबाट विधान संशोधन गरेर ‘पार्टी प्रतिबद्ध’ हुनुपर्ने बनाउनुभयो । अब त मार्क्सवादी लेखकहरूको साझा संस्था भएन, हैन ?
विचारप्रतिको प्रतिबद्धता त पहिलादेखि नै भइआएकै हो । अहिले भएको निर्णय एकदमै फरक भने होइन । जे भए पनि अहिलेको महाधिवेशनले जे निर्णय गरेको छ, त्यो हामीले लागू गर्ने हो । देशभरिका प्रतिनिधि उपस्थित महाधिवेशनको म्यान्डेडभन्दा बाहिर जान सकिँदैन । त्यसलाई लागू गर्नुपर्ने मेरो दायित्व हुन्छ । 
स्वतन्त्र रूपमा रहेका मार्क्सवादी लेखक अब कसरी समेटिन्छन् ?
उहाँहरूले यसअघि विभिन्न फोरममा, कार्यक्रममा जसरी हामीसँग काम गरिरहनुभएको छ, त्यसरी नै जाने हो । खालि संगठनका सन्दर्भमा मात्र विधानमा संशोधन गरिएको होला । यसले कार्यक्रम र अन्य काम गर्न रोक्दैन । हामी सँगै हुन्छौँ । संगठित हुने कुरामा भने उहाँहरू पहिलादेखि नै प्रलेसमा नलाग्नुभएको हो । अहिले पनि प्रलेस साझा मोर्चा हो । यो पार्टीभन्दा पनि सांस्कृतिक मोर्चाका साहित्यिक व्यक्तिहरूको साझा संगठन हो । त्यसकारण सांस्कृतिक मोर्चाबाट आउनुपर्‍यो । संगठित हुने कुरामा नै असहमत हुनु भनेको त प्रलेसमा बस्ने चाहना नहुनु हो । उहाँहरूको त्यो चाहना हो भने हामी सम्मान गर्छौं । 
लेखनमा नचिनिएका मान्छे प्रलेस पदाधिकारी नै छानिए, प्रलेस नलेख्नेहरूको भीड भयो भन्ने आरोप पनि छ नि ?
यस्तो भनाइ सधैँ आइरहन्छ । सबैले सबैलाई चिनिरहेको हुँदैन । लेख्ने विधा फरक हुन्छ । प्रलेसमा अहिले सुशीला प्रधानांग हुनुहुन्छ, गोपिरमण सर हुनुहुन्छ, ध्रुव घिमिरे हुनुहुन्छ । धेरै विद्वान् साथीहरू हुनुहुन्छ । जो–जो आउनुभएको छ, यही विधानभित्रैबाट आउनुभएको छ । महाधिवेशनले नै छानेको हो । सबैजना उत्तिकै चर्चित वा धेरै लेख्ने हुनुपर्छ भन्ने छैन । सबै लेखक नै हुनुहुन्छ ।
धार्मिक संगठनका मान्छे पनि प्रलेसमा आए भन्ने छ । त्यसो हुँदा प्रलेसले आफ्नो चरित्र गुमायो नि ?
यी सबै चानचुने आरोप हुन् । यस्ता कुरा आइरहन्छन् । मैले बुझेसम्म त्यस्तो केही भएको छैन । हाम्रै पार्टीका नेताहरू गएर धार्मिक कार्यक्रमको उद्घाटन गर्नुहुन्छ । धर्मसँग गाँसिएका काम गर्नुहुन्छ । सामाजिक काम गर्दा बाध्यात्मक अवस्थामा धर्मसँग जोडिएका कुरा आइलाग्छन् । त्यसलाई विचार नै परिवर्तन भयो वा जीवनशैली नै फेरियो भन्न मिल्दैन । धार्मिक संस्था र आबद्धताबारे हाम्रो कुरा पनि भएको हो । कोही साथी धार्मिक रूपमा विचारै परिवर्तन गरेर हिँड्नुभएको भन्ने मलाई लाग्दैन ।
भर्खर अध्यक्ष निर्वाचित हुनुभएको छ । तपाईंले तत्काल गर्ने काम के–के हुन् ?
सबैभन्दा महत्वपूर्ण कुरा त वैचारिक पक्ष नै हो । सामाजिक रूपान्तरणका लागि विचारलाई अघि बढाएर लैजानुपर्छ । त्यसका लागि धेरै काम गर्नु छ । पीडितहरूका पक्षमा लेखिने साहित्यलाई व्यापक बनाउनुपर्छ । नेपाली भाषामा मात्र भइरहेको हाम्रो प्रगतिशील साहित्यलाई मुलुकमा बोलिने विभिन्न भाषामा लैजानुपर्छ । विधागत हिसाबमा पनि काम गर्नुपर्नेछ । लेखन र सिर्जनशीलतालाई बढाउने कार्यक्रम पनि गर्छौं । प्रकाशनका काम गर्नु छ । जस्तो, इतिहास लेखनको काम अघिल्लो कार्यसमितिले अघि बढाएको छ । त्यो अधुरो कामलाई पूरा गर्नुपर्नेछ । प्रलेसको भौतिक अवस्था सुधार्ने कुरा उठेको छ, आफ्नो जग्गा र घर हुनुपर्छ भन्ने छ । त्यसका लागि सरकारलाई पनि अनुरोध गर्नेछौँ, अन्य ठाउँबाट पनि प्रयत्नशील रहनेछौँ ।
पछिल्लो समय प्रकाशनका क्षेत्रमा प्रलेस कमजोर देखिएको छ । कस्ता योजना बनाउँदै हुनुहुन्छ ?
हाम्रो नियमित प्रकाशन ‘प्रलेस’ उहिलेदेखि निस्किरहेकै छ । विभिन्न जिल्ला समितिले पनि ‘प्रलेस’ प्रकाशन गरिरहेका छन् । अनुसन्धानात्मक जर्नलको विषय अलि जटिल छ । नेपालमा धेरै कम संख्यामा मात्रत जर्नल प्रकाशन हुन्छन् । ती बिक्री हुँदैनन् र स्टोरमा थन्क्याइन्छन् । 
www.nayapatrikadaily.com बाट साभार 

No comments:

Post a Comment