Tuesday, February 23, 2016

के गर्दैछन् प्रगतिशील लेखक संघहरू - खगेन्द्र संग्रौला


यो शीर्षक ठाडो छ। यसलाई जुराएको मैले होइन। तन्नेरी मित्र बसन्त बस्नेतले हालै साहित्यको सुतीखेती गर्ने शनिबारे अक्षरको बागडोर आफ्ना पारखी हातमा लिएका छन्। बागडोरको डोरी आफ्ना मनले खाएका लेखकहरूका गलामा विनासूचना बेरेर प्रेमपूर्वक तान्दै बस्नेतलाई अक्षरमा पाइन हाल्नु छ। र, आफ्ना पालामा केही नयाँ-नौलो गरेर दुनियाँलाई देखाउनु छ तिनलाई। र नै डोरीले तान्दै गिज्याउने भाकामा तिनले मलाई सोधे- खस्रे भ्यागुत्तोझैँ सुषुप्त अवस्थामा कति दिन गुमनाम रहने हो कण? परेन लेख्नु?

सोचेँ, तरुण मित्रको कुरो ठीकै त हो। लेखक वा लेखकीय मञ्चको अभिनयकर्मीले लेख्नु त पर्ने हो। तर लेख्ने के? मुर्गा फेला पारेको मुद्रामा हौसिँदै बस्नेतले हुत्त जबाफ फर्काए- के गर्दैछन् प्रगतिशील लेखक संघहरू? बस्, यो लेख्ने। प्रश्नमा तिनले असजिलो आशंका राखेको मैल सहजै छनक पाएँ। मानौँ प्रगतिशील लेखक संघहरू छन् पनि र ती छैनन् पनि। अर्थात् ती संघको नाममा त जीवित छन् तर प्रभावकारी सिर्जनामा भने छैनन्। अज्ञानतायुक्त लाचारी प्रकट गर्दै पन्छिन खोजेँ म- यो विषयमा मैले लेख्न खोजेँ भने भाइ, लेख एकै वाक्यमा तुरिन्छ। त्यो हो, मलाई फुट्टी थाहा छैन। तब मुद्रण जगत्मा रातोदिन तँछाड-मछाड गरिरहेका सार्थक वा निरर्थक शब्दहरूको सागरमा नाथे एक वाक्यको लेख के लेख्ने? जिब्रो निकालेर हल्लाउँदै कुरिकुरी गर्दैन लोकले?
ठट्टाले गम्भीर मोड लियो। र, विनयशीलताले मलाई पगालेर बस्नेतले ख्यालख्यालमै ‰याल पारे। जान्दिनँ भनेर उम्किन खोज्दाखोज्दै बाचा-वन्धनमा म फ्यास्सै फसेँ। र, आफैँतिर फर्केर सोधेँ- के गर्दैछन् प्रगतिशील लेखक संघहरू? उत्तर फेरि उही नै आयो- अरे यार, मलाई फुट्टी थाहा छैन।
छनलाई प्रगतिशीलको सुन्दर पगरी गुथेका लेखक संघहरू अनेक छन्। साझा संघ भनिने छाता संघका रुपमा प्रगतिशील लेखक संघ छ। उता माओवादीको अर्को छुट्टै र एकलौटी लेखक संघ छ। एमालेको राष्ट्रिय जनसांस्कृतिक महासंघ पनि अस्तित्वमा होला नै। लेखकहरू भए पनि नभए पनि नगण्य टाइपका अन्य खुद्रे कम्निस्ट पार्टीहरूका पनि एक-एक थान संघ त पक्कै होलान्। साँच्ची नै के गर्दै होलान् यी पगिता संघहरू? लेखक वा लेखक संघको दैनिक जीवनचर्या उसको नितान्त निजी मामिला हो। स्वभावतः त्यसको वृत्त साँगुरो हुन्छ। त्यसकारण त्यो उसैलाई मात्र थाहा हुन्छ। त्यो वृत्तमा घुम्दै सूचना र ज्ञान सँगालेर, इतिहासको उत्खनन र समाजको अन्वेषण गरेर र गतिमान् जीवनको नाडी छामेर साधना गर्दै जब लेखक वा लेखक संघले केही उत्पादन वा सिर्जना गर्छ तब त्यो मुद्रणको घोडा चढेर सार्वजनिक डबलीमा हाजिर हुन्छ। त्यो उत्पादन वा सिर्जनामा विचारको शक्ति र शिल्पको कान्ति भए त्यो सम्बन्धित लेखक वा लेखक संघको वृत्तलाई नाघेर फराकिलो क्षितिजमा फैलिन्छ। र, त्यसले पहुँच र प्रभावको अन्तरवैचारिक तथा अन्तर्वर्गीय डबली ढाक्छ। तर त्यो शक्ति र त्यो कान्तिको अनिकाल भए त्यो जिनिस उही लेखक वा उही संघको दिनचर्याको वृत्तभित्रै खुम्चिएर त्यतै कतै विलुप्त हुन्छ। र, उत्पादक वा सर्जकसिबाय त्यसबारे कसैलाई खुटपत्तो हुँदैन। प्रगतिशील लेखक संघहरू कतै खुम्चिने र हराउने यही दुश्चक्रको शिकार भइरहेका त होइनन्? मेरो सीमित दृष्टि-क्षितिज र अल्पज्ञानबाट उठेको अति अप्रीतिकर प्रश्न हो यो। 
इतिहासतिर फर्किन्छु। कुरा २००९ सालको हो। पृष्ठभूमिमा शैशवकालीन नेपाल कम्निस्ट पार्टीको प्रेरणादायी हात थियो । हो त्यही हात समातेर जन्म भयो प्रगतिशील लेखक संघको। संघका मूल जनक थिए श्यामप्रसाद शर्मा। नेपाली समाज राणा शासनको निसासलाग्दो बन्देजकारी अन्धकारबाट भर्खरै उन्मुक्त मिरमिरे उज्यालोमा बाहिर निस्केको थियो। त्यो उदीयमान समाजमा त्यो संघको जन्मको अर्थ चानचुने थिएन। मार्क्सवादको छातामुनि उभिएर त्यसले साहसका साथ भौतिकवादी दृष्टिकोणको कुरा गर्‍यो। र, गर्‍यो बडो फुर्तिसाथ त्यसले जनमुखी, जनजागरणकारी र जनसेवी साहित्यको पैरवी। साहित्यजस्तो सशक्त र सरस साधनलाई जनजनको नियतिसित जोड्ने सचेत र सराहनीय चेष्टा थियो त्यो। 
सत्र सालमा शाही फौजी तरबारको ताण्डव शुरु भयो र त्यो घातक तरबारको छायाँमुनि प्रगतिशील लेखक संघ सुस्तायो। यसका जनक श्यामप्रसाद शर्मा सकारण वा अकारण भूमिगत भए। पछि थाहा भयो, तिनको दैहिक भूमिगत गमनसँगै तिनको चिन्तन र सिर्जन क्षमता पनि भूमिगतै भएछ। बाहिर निस्कँदा तीसँग अर्ती-उपेदशका ससाना सहस्र पन्तुरासिवाय केही नै नभएझैँ देखियो। तैपनि उनी थिए प्रगतिशील साहित्यको इतिहासका आदरणीय आदि अभियन्ता। त्यसैले उनको अध्यक्षतामा एक कार्यकाल म प्रगतिशील लेखक संघको महासचिव भइटोपलेँ। कार्यकाल तीन वर्षको थियो। मेरा ती तीन वर्ष बित्थाका कर्मकाण्डीय ‰याउलाहरूमा अल्भि्कएर बिते। संघमा खुट्टा तानातान, कलह, विग्रह सिवाय केही भएन। तसर्थ प्रगतिशील लेखक संघले चिन्तन र सिर्जनामा एउटा सिन्कोसम्म पनि भाँच्न पाएन। कार्यकाल सकेर र पदभार बिसाएर सादा भेषमा संघबाट बाहिर निस्कँदा मलाई साँगुरो खोरबाट फुक्का भएको सुखानुभूति भएथ्यो। 
नाम छ गरिमामय लेखक संघ। अझ त्यसमाथि कति राम्रो प्रगतिशील छ। बडो सुन्दर छ नि यो। तर नेतृत्वको चयनविधि र संघको आन्तरिक जीवनमा यो सौन्दर्य कतै झल्किँदैन। संघमा लेखकहरूका नेताको चयन लेखकहरूले गर्दैनन्, कतै अदृश्य खोपीमा पार्टीको पोलिटब्युरोले गर्छ। लेखकको आत्मनिर्णयको अधिकार र संघको स्वायत्तताको हक त्यहीँ सकिन्छ। संघका कार्यकारी पदहरूमा पार्टी-पार्टीबीच भयङ्कर लुछाचुँडी चल्छ। र, आखिरमा संघका पदहरू जुँगा हेरी भाग लाग्छन्। भीमकाय आकार र जङ्गी जुँगा हुनेलाई ठूला पद, मझौला आकार र मझौलै जुँगा हुनेलाई मझौला पद, मसिना आकार र मसिनै जुँगा हुनेलाई मसिना पद। पद हत्याउने क्रमको अस्वस्थ लुँछाचुँडीले लेखकहरूबीचको सद्भाव स्वाहा हुन्छ र तिनको चित्त प्रसन्नता चिलिम हुन्छ। र, संघको कार्यकालभरि नै तिनको आपसी सम्बन्धमा अविश्वास, असहयोग र तिक्तता व्याप्त रहन्छ। त्यहाँ समाज, साहित्य र सौन्दर्यशास्त्रबारे गहन चिन्तन गर्ने न वातावरण हुन्छ न त हुन्छ त्यसअनुकूल प्रसन्न मानसिकता नै। त्यहाँ त हर्दम् कलह पो हुन्छ। र, संघ साँचो अर्थमा कलह संघ बन्छ। संघमा पार्टी-पार्टीका आग्रहहरू बोक्ने शब्दहरू, सूत्रहरू र तिनका अभिमानहरू रातोदिन जुध्छन्। त्यो भाले जुधाइमा संघका कर्ताहरूको धेरैजसो ऊर्जा र उमङ्ग नाश हुन्छ। र, संघ लचकहीन मानसिकता र क्षुद्रमति भएका रकमी वकिलहरूको दन्तबजान संघतुल्य बन्छ। अनि के को हुन्थ्यो गहन सौन्दर्य चिन्तन? अनि के को हुन्थ्यो सार्थक र सुन्दर सिर्जना?
महासचिव छँदाको आफ्नै उच्चाटलाग्दो अनुभव सम्झना गर्दै म अनुमान गर्छु, संघमा बैठक र भेला हुँदा हुन्। विचार गोष्ठी र प्रशिक्षणहरू हुँदा हुन्। तिनमा निर्णयहरू गरिँदा हुन्। रकमी व्यहोराका माइनट रिठ्ठो नबिराई लेखिँदा हुन्। घरिघरि व्यक्ति र समाजको आत्मिक रुपान्तरणका लागि साहित्य समर्पित छ भनिँदो हो। तर कथ्य र कलामा त्यस्तो रुप्ाान्तरणलाई प्रेरित गर्ने सामर्थ्य भएको जीवन्त र स्पन्दनयुक्त साहित्य भने रचिँदैन। जे जस्तो साहित्य रचिन्छ, त्यो संघ र त्यसका कर्ताहरूको जीवनको सानो वृृत्तभित्रै सीमित हुन्छ। संघको सीमालाई नाघेर त्यो विशाल अन्तवर्गीय विस्तारमा पुग्दै पुग्दैन। अनि झन्डैजसो लेख्ने जो हुन्छ पढेर रमाउने पनि उही हुन्छ। यो चक्र चाकाचुलीझैँ घुम्छ र नित्य घुमिरहन्छ।
म लख काट्छु, संघभित्र को प्रगतिवादी, को प्रगतिशील र को त्यसइतरको हल्लुँड भन्ने रौँचिरा चर्चा चलिरहँदो हो। चर्चाकार जो हुन् ती त पदेन प्रगतिवादी हुने भइ नै हाले। चिन्तन र सिर्जनाको सग्लो सबुतले त्यसलाई पुष्टि गरिरहनु पर्दैन। पार्टी र संघबाहिरका वाम झुकाव राख्ने जनमुखी लेखकहरूलाई बडो कृपापूर्वक काम चलाउ प्रगतिशीलको दर्जा दिइँदो हो। अनि त्यो दर्जा दिने र खोस्ने उपक्रम चलिरहँदो हो। म कल्पना गर्छु, उग्र हिन्दुवादीले जस्तो कठोर निष्ठाकाष्टाको त्यान्द्रोमा झुन्डिएर संघइतरका लेखकहरूको आचरणमाथि कठोर कटाक्ष गरिँदो हो। फलानो जाँड खान्छ भनिँदो हो। लुकेर खाए वा खाएर लुके ठीकै थियो, जाँड खान्छ र प्रगतिशीलताका निधारमा दाग लगाउँदै हाकाहाकी मैले खाएँ भन्छ नाथे भनिदो हो। फलानो आफ्नो वैचारिक जातको पर्बाह नगरी प्रतिक्रियावादीसँग चोचोमोचो गर्छ पनि त भनिदो हो। कुन्नि, यी र यस्ता नाटीकुटीहरू प्रगतिशील लेखक संघहरूका बसिबियाँलो गर्ने मसला पो हुँदा हुन् कि!
हुन त प्रगतिशील लेखक संघहरू केही गर्दै गर्दैनन् भन्ने पनि होइन। यदाकदा गर्छन्। पोहोरतिर त हो हार्ड कभरमा हजार-बाह्र सय पृष्ठको एउटा ढड्डा मैले पढ्न पाएको। कुरो प्रस्ट छ, माओवादी महलको लेखक संघको हो त्यो। म सम्झन्छु, त्यो ढड्डा 'जनयुद्धको सौन्दर्य'को बखानमा केन्द्रित थियो। छाँटले उक्त ढड्डामा मूल्याङ्कन र प्रशंसाको लहरमा खुलेर वा लुकेर जनयुद्धमा लागेका लेखकहरूमात्र परेका छन्। जब त्यो पढिसकेँ, त्यसको पाठकीय वृत्त कत्रो होला भन्ने प्रश्नले मलाई नराम्ररी पिरोल्यो। रोजिएका र उत्पात प्रशंसा गरिएका पुस्तकहरूको चरित्र हेर्दा मलाई लाग्यो, यी पुस्तकहरू मूल्यांकन गरिने पात्र, मूल्याङ्कन गर्ने कर्ता र तिनको सम्पर्क र पहिचानको सानो दायराबाहिर कसले पो पढ्ला र खै? त्यहाँ त केवल कलात्मक विधिले प्रशोधन नगरिएका आग्रह, नारा, आक्रोश, प्रतिशोध, आरोप र हुङ्कारहरूको डङ्गुर छ। धेरैजसो प्रगतिवादीहरू अभिधामा साहित्य लेख्छन्। बक्ररेखामा हिँड्ने जटिल जीवनको सोझो, सरल र सपाट कथा हो त्यो। लाग्छ, लक्षणा र व्यञ्जनाको प्रयोगप्रति हाम्रा अधिकांश प्रगतिवादी बन्धुहरू बेखबर छन् अथवा त्यतातिर तिनलाई रुचि नै छैन। घर्षणयुक्त जीवन-यथार्थबाट ग्रहण गरिएको कच्चा पदार्थलाई प्रशोधन गरी कलाको स्तरमा उठाउन ती सटिक प्रतीक र बिम्ब, रुपक र मिथक, व्यङ्ग्य र कटाक्ष आदि इत्यादि कलाका उपकरणहरूको प्रयोग गर्ने लेठो गर्दैनन्। अनि यी थरिथरिका संघहरू र तिनका अगुवाहरू उही सरल र सपाट तसर्थ निष्प्रभावी लेखनलाई मलजल हाल्छन्। नाकै अगाडिको प्रमाण अघि मैले भनेको ढड्डा हो। माओ साहित्यको स्तरलाई गाउँले गोठालाको गीतको तहमा अल्झाएर नराख, क्रमशः माथि उकास्दै जाओ भन्थे। विडम्बनावश, थुप्रै माओवादी लेखकहरू उही गोठालाको गीतमै अड्किएका छन्। र, लेखक संघहरू र तिनका अगुवाहरू तिनलाई त्यहीँ अड्काइराख्न जिद्दी गरेका गर्‍यै छन्। 
प्रगतिशील लेखक संघहरूलाई मैले दुईथरी सन्दर्भमा देख्न खुबै रहर गरेको हुँ। ती सन्दर्भ हुन्, पुस्तक मेलाहरू र नवीन प्रकाशनहरू। लेखक, पाठक र प्रकाशकहरूको रमितलाग्दो लर्को लागेका पुस्तक मेलाहरूमा जीवनका विविध विषय र क्षेत्रबारे राम्रै परिचर्चा भएका थिए। कान ठाडा पार्दै आँखा च्यातेर हेरेँ, त्यहाँ संघतर्फका प्रगतिशीलहरूको सहभागिता न त उल्लेख्य थियो न त अर्थपूर्ण नै। भन्नकै लागि त संघका हस्तीहरू पुस्तक मेलाका माउहरूले 'हामीलाई डाकेनन्' भन्दा हुन्। विचारको शक्ति र सिर्जनाको चमकले फराकिलो सम्पर्क, पहुँच र पहिचान बनाए न कसैबाट कोही डाकिन्छ। प्रगतिशील लेखक संघहरूका हुन् भन्दैमा 'हजुर सवारी होस्' भन्न धाईधाई को आउँछ र!
केही समययता निकैवटा राम्रा प्रकाशनहरू खुलेका छन्। पुस्तक उत्पादनको गुणवत्तामा तिनले बिछट्टै राम्रो प्रगति गरेका पनि छन्। र, कष्टसाध्य यत्नका साथ ती फराकिलो वितरण सञ्जाल पनि बनाउँदैछन्। यसो हेर्छु, प्रगतिशील संघहरूमा आबद्ध लेखकहरूका नाक-मुख ती प्रकाशनमा म कतै देख्दिनँ। हाम्रा प्रगतिशीलहरूसित आफ्ना गतिला प्रकाशनहरू त छैनन् नै, आफ्नो सिर्जनाको सामर्थ्य र सौन्दर्यको चहकद्वारा भएका प्रकाशनहरूसम्म पुग्ने हुटहुटी पनि तिनमा छैन। मानौँ 'म जे छु ठीकै छु, बिथोल्न नआऊ'को मूडमा ती त्यसैत्यसै मगनमस्त छन्। कुन्नि, प्रगतिशीलहरूको यो मूड कुपमण्डुक प्रवृत्तिको द्योतक पो हो कि! प्रगतिशीलता त नवीनताको अन्वेषण गर्नु, सिर्जनामा गतिमान् हुनु र अगाडि जानुको यात्रा पो हो।
प्रगतिशील लेखक संघहरूमा सिद्धान्तको शुद्धता र आचरणको कञ्चनपनामा दिइने जोड हुनुसम्म बेजोडको छ। शुद्धता र कञ्चनपनाको वैष्णवी आग्रहबाट आफ्नो वरिपरि भयानक पर्खाल खडा हुन्छ। र, आफूू त्यो साँगुरो वृत्तभित्र कैदी भइन्छ र विशाल संसार पाखा पर्छ। अनि स्वनिर्मित कैदखानाबाट आफैँले मात्र सुन्ने गरी भनिन्छ- संसारका ज्यामीहरू एक होऔँ र संसारलाई फेरौं। बडो खिन्न मुद्रामा म तर्क गर्छु, संसार के फेरिँदो हो खै यस्तो तोरीलाउले तालले!
प्रगतिशील लेखक संघहरूमा लेखकहरूलाई कित्तारण गरी टाँचा लगाउने काम पनि नित्य हुँदो हो भन्ठान्छु म। यस्तो र उस्तो भनेर खासखास लेखकको जब पूर्वाग्रही चित्र बनाइन्छ, खुला दिलले उसका रचनाहरू पढिँदैन। पढिहाले पनि उसका रचनामा केवल आफ्नै आग्रह पढिन्छ। हठाग्रहको चश्मा लगाएर लेखकको कित्ताकरण गर्दै जाँदा पढ्ने कुरा धेरै बाँकी रहँदैनन्। अतिशय शुद्धताको ढिपी त्यस्तो मनोविकार हो जसले आफूसिवाय कसैलाई शुद्ध र सद्दे देख्दैन। जब शुद्ध र सद्दे आफैँमात्र छ त बाँकी नाथेहरूका रचना पढ्नु नै किन? अनि पर्याप्त पुष्टकारी बौद्धिक खुराकविना दिमाग त टाक्सिने नै भयो। बहुल तत्वको जटिल योगबाट विराट यथार्थ बन्छ। मनचिन्ते आग्रहको ऐनामा आफ्नैमात्र अनुहार हेरेर जीवन र जगत्को विराट यथार्थ बुझिँदैन। अनुहार उसको र उनीहरूको पनि त हेर्नुपर्छ।
जनमुखी र जिउँदो साहित्यको सिर्जनामा दूरीको कुरो मेरा लागि धेरै महत्वपूर्ण छ। पार्टी लेखक र उसको पार्टीको बीचमा जब दूरी मेटिन्छ, लेखक पार्टीको पेटमा पचेर त्यसको भजनमार्गी अन्धभक्त बन्छ। उसको आलोचनात्मक चेत र सिर्जनात्मक आलोक तिरोहित हुन्छ। र, लेखक आलोचनात्मक प्रवृत्ति र वागी कल्पनाशीलता रहित रोबोटीय आदेश पालक बन्न पुग्छ। कुन्नि, प्रगतिशील लेखक संघहरू र तिनका अगुवाहरू यस्तै लेखकहरूको निर्माणमा लागिपरेका पो हुनन् कि?
धेरै कठोर वचनहरू लेखेँ क्यार। यी वचनहरू कष्टपूर्ण तनावको मनोदशामा लेख्न म विवश छु। वामइतरको नेपाली लेखक संघ त सुतीसुती चल्ने खालको लेखक संघ हो । त्यो गठन हुन्छ, त्यसका नेताहरू घोषित हुन्छन् र शायद संघलाई सिरानी लगाएर ती मग्नसँग सुत्छन्। तर क्रियाको प्रतिफल जस्तोसुकै किन नहोस्, प्रगतिशील लेखक संघहरू प्रायः क्रियाशील रहन्छन्। तिनमा निष्णात मार्क्सवादीहरू लागेका छन्। तिनमा सयौँ युवाहरू जुटेका छन्। साहित्य सन्ध्या र प्रतिभा प्रवाहजस्ता महिनावारी तारिख धाइने र चार दिवारभित्र उही गोलचक्करमा नित्य घुमिरहने गोष्ठीहरू पनि चलिरहेकै होलान्। समाजको न्यायपूर्ण रुपान्तरण र सांस्कृतिक उन्ननयमा यी सबै प्रतिबद्ध छन्। तर सोचाइको एकपाखेपन र जडसूत्रहरूको उच्चाटलाग्दो रटनाका कारण तिनका प्रतिबद्धता र कर्महरूको फल खासै सार्थक देखिँदैन। यी लेखक संघहरू यिनमा संलग्न थुप्रै प्रतिभाहरूको प्रतिभा प्रस्फुटनका प्रेरक बनिरहेका छन् कि तिनलाई साँगुरो पिन्जराका सुगा बनाउने कारक बनिरहेका छन् प्वाक्क भन्न गाह्रो छ। तसर्थ प्रगतिशील लेखक संघहरूका अगुवाहरू आफैँ भनून्- के गर्दैछन् प्रगतिशील लेखक संघहरू?

No comments:

Post a Comment