Saturday, August 6, 2016

प्रगतिशील लेखक संघ - स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट

अध्यक्षमा कवि तथा कथाकार मातृका पोखरेल
प्रगतिशील लेखक सङ्घमा युवा नेतृत्व
मूल्याङ्कन सम्वाददाता 

प्रगतिशील लेखक सङ्घको दशौं राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको छ । काठमाडौंमा चैत २६ र २७ मा सम्पन्न सम्मेलनबाट अध्यक्षमा कवि तथा कथाकार मातृका पोखरेल सर्वसम्मत निर्वाचित भएका छन् । साहित्यकार पोखरेल प्रगतिशील लेखक सङ्घको केन्द्रमा तीन दशकदेखि निरन्तर क्रियाशील छन् । उनी यसअघि सङ्घको राष्ट्रिय परिषद् सदस्य, केन्द्रीय सदस्य, कोषाध्यक्ष, सचिव र उपाध्यक्ष रहिसकेका व्यक्तित्व हुन् । पोखरेलका ‘सेतो दरबारको छेउबाट’ (२०५७), ‘यात्राको एउटा दृश्य’ (२०६०), ‘अनुहारहरु’ (२०६४) गरी तीन कवितासङ्ग्रह र ‘सन्त्रस्त आँखाहरु’ (२०६१) एवम् ‘घाम झुल्किनुअघि’ (२०६७) दुई कथासङ्ग्रह प्रकाशित छन् ।
२०२३ सालमा ठानागाउँ, उदयपुरमा जन्मेका पोखरेल नेपाल साहित्यिक पत्रकार सङ्घ, पारिजात स्मृति केन्द्र, घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान, देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठान लगायतका संस्थासँग पनि आबद्ध छन् । लामो समयसम्म प्रगतिशील साहित्यिक पत्रिका ‘वेदना’को सम्पादन गरेका पोखरेल एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका संयोजक समेत हुन् ।
काठमाडौं, कमलादीमा सम्पन्न सम्मेलनले अध्यक्ष पोखरेलको नेतृत्वमा ६९ सदस्यीय केन्द्रीय समिति र ७० सदस्यीय राष्ट्रिय परिषद् सदस्य पनि सर्वसम्मत निर्वाचित गरेको छ । सङ्घको पदाधिकारी र केन्द्रीय समितिमा बहुसंख्यक युवा प्रगतिशील साहित्यकारहरु निर्वाचित भएका छन् ।
युवा कवि आरएम डंगोल महासचिवमा चुनिएका छन् भने वरिष्ठ उपाध्यक्षमा युवा कवि राजबहादुर कुँवर चयन भएका छन् । अन्य उपाध्यक्षहरुमा रोशन जनकपुरी, डा. कृष्णराज अधिकारी, मिश्र वैजयन्ती, डा. विन्दु शर्मा, खेम थपलिया, रामप्रकाश पुरी, पद्मप्रसाद शर्मा र पुष्करराज भट्ट चुनिएका छन् ।
युवा कविहरु सरिता तिवारी, शोभा दुलाल, प्रकाश सिलवाल र होमशंकर बाँस्तोला सचिवमा निर्वाचित भएका छन् । कवि पुन्य गौतम विश्वास वरिष्ठ सचिव चुनिएका छन् भने विजयराज आचार्य कोषाध्यक्षमा चयन भएका छन् ।
नवनिर्वाचित केन्द्रीय समितिमा पनि युवा साहित्यकारहरुको बलियो उपस्थिति देखिएको छ । केन्द्रीय समितिमा निमेष निखिल, विनोदविक्रम केसी, स्वप्निल स्मृति, दीपक सापकोटा, प्रमोद धिताल, श्याम शाह, राजु स्याङ्तान, आरसी न्यौपाने, केबल बिनाबी, सङ्गीत श्रोता लगायतका नयाँ पिंढीका कवि\लेखकहरु निर्वाचित भएका छन् ।
त्यसैगरी राष्ट्रिय परिषद्मा शकुन्तला जोशी, गुरुङ सुशान्त, कल्पना चिलुवाल, गणेशकुमार राई, शैलज पौडेल, रमण पौडेल, भावना पाठक, आस्था केसी लगायतका युवाकविहरु चुनिएका हुन् । सम्मेलनमा देशभरिका ४५० लेखक प्रतिनिधिहरु सहभागी थिए । २००९ सालमा साहित्यकार श्यामप्रसाद शर्माको नेतृत्वमा स्थापित प्रगतिशील लेखक सङ्घ नेपालका प्रगतिशील लेखकहरुको साझा संस्था हो । २०१७ सालको राजा महेन्द्रको निरंकुश कदमपछि निष्क्रिय रहेको र २०३६ सालको भेलाबाट पुनःजीवित गरिएको यस संस्थाले २०४४ सालमा प्रथम राष्ट्रिय सम्मेलन गरेको थियो ।
सङ्घमा यसअघि साहित्यकार श्यामप्रसाद, रमेश विकल, आनन्ददेव भट्ट, गोविन्द भट्ट, निनु चापागाईं, घनश्याम ढकाल र अमर गिरीले नेतृत्व गरिसकेका छन् । वरिष्ठ लेखक खगेन्द्र संग्रौला सचिव र महासचिव रहिसकेको यस संस्थामा प्रगतिवादी कवि विमल निभाले उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । लेखक संग्रौला र कवि निभालाई प्रलेसले यस पटकको सम्मेलनमा सम्मान समेत गरेको थियो ।
उनीहरुसँगै कविता पौडेल, राम विनय, कृष्णदास श्रेष्ठ, वेणु आचार्य र झपेन्द्र वैद्यलाई पनि प्रलेसले दशौं सम्मेलनको अवसरमा सम्मान गरेको थियो ।

https://ne.wikipedia.org बाट साभार 

No comments:

Post a Comment