Saturday, July 2, 2016

जिज्ञासा र असहमति - सङ्गीत स्रोता



कमरेड महासचिव
प्रगतिशील लेखक सङ्घ, नेपाल
केन्द्रीय कार्यालय, काठमाडौं ।

विषय : जिज्ञासा र असहमति ।
प्रस्तुत विषयका सम्बन्धमा प्रगतिशील लेखक सङ्घको मिति २०७१ भदौ १ गतेको सचिवालय बैठकले मूर्त रूपमा निर्णय गरी भदौ १७ गते सम्पन्न ‘समकालीन प्रगतिशील कविताका स्वरहरू’ शीर्षकको कवि गोष्ठीका लागि कविहरू चयन गर्ने प्रक्रिया र आधारहरू के–के हुन् भन्ने विषयमा प्रष्ट नभएकाले यो जिज्ञासा–पत्र राखेको हुँ । भदौ १ को बैठकमा आफू अनुपस्थित भएकाले सोही साँझ बैठकबाट के–के निणर्य भयो भनी कोषाध्यक्ष विष्णु भण्डारीसँग फोनमा सम्पर्क गर्दा उहाँले ‘प्रत्येक ठूला पार्टीलाई सात÷सात जना कवि बाँडियो’ भन्नुभएको थियो । गोष्ठी हुनुभन्दा केही दिनअघि उपाध्यक्ष मातृका पोखरेलले पनि मलाई टेलिफोनमै ‘तपाईं हाम्रो (पार्टीको) कोटामा पर्नुभएको छ’ भन्नुभएको थियो र म अनुपस्थित हुने अवस्थामा त्यसको सट्टा ‘हाम्रै घटकबाट अर्को कवि राख्नुपर्ने’ समेत जानकारी गराउनुभएको थियो । मैले उहाँलाई ‘कविहरू पार्टी–पार्टीलाई बाँडेको राम्रो भएन’ भनेको थिएँ । पछि अन्य माध्यमबाट पनि समकालीन कविहरू तीन पार्टीले आ–आफ्ना कोटामा बाँडेको भन्ने सुनियो । साथै उक्त गोष्ठीमा समकालीन प्रगतिशील कविता लेखनमा क्रियाशील केही प्रतिभाशाली र सशक्त कविहरू छुटाइएका थिए । ती कविहरूलाई कसैले पनि आफ्नो वृत्त (गुट)मा नपारेको रहेछ । प्रगतिशील कविहरू वैचारिक वा साङ्गठनिक रूपमा प्रतिबद्ध हुनुपर्छ तर राम्रो कविता लेख्नका लागि ठूला पार्टी वा ठूला गुटले पत्याएकै हुनुपर्छ र ? यदि त्यसो हो भने यस प्रक्रियामा मेरो गम्भीर असहमति रहेको जानकारी गराउन चाहन्छु । कवि गोष्ठीमा कविता वाचन गर्नका लागि अन्य वैज्ञानिक आधार तय गर्न सकिन्थ्यो । पार्टी वा घटकको नाम लिंदै प्रशासनिक ढङ्गले आ–आफ्ना झोलाबाट कविहरू निकाल्ने तरिका सही थिएन भन्ने आफ्नो फरक मत आउँदो बैठकमा दर्ता गर्न चाहन्छु । बहुमतले गरेको निर्णय कार्यान्वयन गर्न भने मेरो सहयोग थियो र रहनेछ । धन्यवाद ।

हार्दिक अभिवादनसहित–
सङ्गीत श्रोता
सचिवालय सदस्य
प्रगतिशील लेखक सङ्घ, नेपाल
२०७१ भदौ १८, बुधबार

No comments:

Post a Comment