Thursday, April 4, 2019

फुटलाई रोज्नेहरुले आन्दोलन अघि बढाउनै सक्दैनन्

जनता जनता समाचार



वामपन्थी लेखकहरुको साझा संगठन प्रगतिशील लेखक संघ सम्मेलनको अन्तिम चरणमा छ । देशैभरि संगठन विस्तार तथा जिल्ला एवम् प्रदेश सम्मेलनहरु सम्पन्न गरेको संघ सम्मेलनको संघारमा आइपुग्दा केही विवादहरु देखिएका छन् । प्रस्तुत छ, संघभीत्र देखिएका विवाद, राष्ट्रिय सम्मेलन र नेपालमा चलिरहेको राजनैतिक एवम् वैचारिक बहसका सन्दर्भमा अध्यक्ष मातृका पोखरेलले जनतासमाचारका नरेश न्यौपानेसँग गर्नुभएको संक्षिप्त कुराकानी :
प्रगतिशील लेखक संघको राष्ट्रिय सम्मेलनको तयारी कस्तो छ ?
पहिलेको भन्दा यो सम्मेलन सांगठनिक रुपमा बृहत् खालको हुने देखिन्छ । यसमा उपस्थित हुने प्रतिनिधिको संख्या पहिले भन्दा झन्डै झण्डै दोब्बर हुने देखिन्छ । अधिकांश जिल्लामा यसपटक विस्तारको प्रयत्न गरिएको छ । ७ वटै प्रदेशमा प्रदेश सम्मेलनहरु सम्पन्न भइसकेका छन् । हामीले ७७ वटै जिल्लामा प्रलेस विस्तारको आधार तयार पारेका छौं ।
यो त संगठन विस्तारको कुरा भयो, सम्मेलनको तयारी चाहीं ?
सम्मेलनका लागि विभिन्न व्यवस्थापनका कामहरु गरिरहेका छौं । तुल्सिलाल प्रतिष्ठानमा सम्मेलन हल व्यवस्थापन गरिएको छ । २२ गते ११ बजे उद्घाटन कार्यक्रम छ । बन्द शत्र पनि त्यहीँ गर्नेछौं । २३ गते नेतृत्व चयनको काम सक्ने गरि सम्मेलनको दुई दिने तालिका बनाएका छौं । सम्मेलनका लागि विधान मस्यौदा समितीका काम सकिएको छ । प्रतिवेदन लेखनको काम पनि अन्तिम चरणमा पुगेको छ । प्रतिनिधीको व्यवस्थापनका लागि पनि विभिन्न आवश्यक तयारी गरिसकेका छौं । तर प्रतिनिधिको संख्या निकै बढ्ने देखिएकोले हलको विकल्पबारे पनि हामीले सोचिरहेका छौं ।
मुलुकमा यतिबेला कम्युनिष्ट पार्टीको सरकार छ, प्रगतिशील विचारको कार्यान्वयनकाे क्षेत्रमा तपाइहरुले के के पहल गरिरहनुभएको छ ?
यसपटकको सम्मेलनमा हामीले केही नयाँ विषयहरुलाई प्रतिनिधीमार्फत देशैभरि पुर्याउने कोशिस गर्नेछौं । हामीले जसरी स्थापना कालदेखि नै सामन्तवाद, साम्राज्यवादी लेखकिय मोर्चाको रुपमा काम गर्दै आइरहेका थियौं, अब यो पुरानै कुरालाई मात्रै निरन्तरता दिएर अगाडि बढ्न सक्दैनौं भन्न्ने ठाउँमा आइपुगेका छौं । किनकी आज सामन्तवादको अन्त्य गरेर हामी गणतन्त्रमा आइपुगेका छौं । तथापी सामन्तवादका बाँकी रहेका अवशेषहरुसँग लड्ने कुरा त छदैंछ । जसरी आज राजनितिमा वैचारिक स्खलनता आएको देखिन्छ त्यो लेखकिय क्षेत्रमा पनि छ । यो पटकको सम्मेलनले खासगरि देई कुरा जोडले उठाउने भएको छ , पहिलो वैचारिक रुपमा स्पष्ट नभएका साथीहरु प्रलेसमा नबसिदिनुहोस र हाम्रो विधानमा जे छ, त्यसमा स्पष्ट हुन नसक्नेले यसमा सामेल बन्नु हुँदैन भन्ने कुरा र अर्को यो लेखकहरुकै संगठन हो र अलेखकहरुले लागि यहाँ आवद्दता नजनाइदिनोस भन्ने कुरा ।
पछिल्लो समय नेपालको कम्युनिष्ट आन्दोलनमा आएको वैचारिक स्खलनताले प्रलेसलाई पनि गाँजेको छ भनिन्छ, के भन्नुहुन्छ ?
सहि प्रश्न गर्नुभयो, हाम्रो आन्दोलनमा आज जुन समस्या देखिएको छ, यसबाट प्रलेस पनि अछुतो छैन । तर यो सम्मेलनबाट हामी यसलाई करेक्सन गर्नेगरि अगाडि बढ्न खोज्दैछौं ।
तर केही लेखकहरु त अब प्रलेसले विचारको क्षेत्रमा काम गर्न सक्दैन भनेर अलग्गिनु भयो नि ?
उहाँहरु प्रलेसले प्रगतिवादी काम गर्न सक्दैन भनेर अलग्गीनुभएको होइन । छुट्टीएर गएका साथीहरुलाई हेर्दा उहाँहरु प्रलेसको नेतृत्व तहमा बसेरै काम गर्नुभएका साथिहरु पनि हुनुहुन्छ । आज उहाँहरु जुन छटपटि देखाइरहनुभएको छ, त्याे त प्रलेसमै राखेर हामी सबै मिलेर पनि गर्न सकिन्थ्यो होला नि त ? प्रलेसमा रहँदा उहाँहरुले कहिल्यै पनि यसाे गर्नुपर्छ भनेर कुनै प्रस्ताव ल्याउनु पनि भएन । अन्तमा सम्मेलनको समय आउँदा २ वटा प्रस्ताव ल्याएर आउनुभयो । त्यसमा पहिलो एमाले र एमाओवादीबिचको एकता गलत थियो भन्नुभएको थियो र त्यसमा हामी केही गर्न सक्दैनथ्यौं र अर्को सम्मेलनको सारा तयारी अघि बढेपछि सम्मेलन ६ महिना सारौं भन्नुभएको थियो र जुन आवश्यक थिएन । उहाँहरुले कुनै नयाँ वैचारीक कुरा ल्याएर छलफल गरौं भनेको भए सोच्न पनि सकिन्थ्यो । तर विनाकारण हामी यस्ता प्रस्तावको पछि लाग्ने कुरा पनि भएन । फुटलाई रोज्नेहरुले आन्दोलन अघि बढाउनै सक्दैनन् पनि ।
छुट्टिएर जानुका खास कारण के हुन त्यसो भए ?
यसको कारण त खोजि हुँदै गर्ला । ठुला ठुला पार्टीका प्रेस वक्तव्यहरु साना अक्षरमा छाप्ने पत्रपत्रिकाहरुले प्रलेसबाट छुट्टीयौं भन्नेहरुको ४ पेजको वक्तव्यलाई कत्रो पेजमा छापे ? किन छापिरहेका छन् यसरी ?प्रश्न गनुपर्दैन कसैले ? यसको पछाडीको खास कारण के छ हामी पनि खोजिरहेका छौं । तर त्यहाँ भित्र पनि असाध्यै इमान्दार साथिहरु पनि हुनुहुन्छ, मेले सबैको यस्तोमा संलग्नता छ भन्न खोजेको होइन ।
नेपालको प्रगतिवादी आन्दोलन स्खलनतातिर जाँदै गरेको त सत्य हो नि ?
त्यो त हो । हामीले पनि होइन भनेका छैनौं नि ? तर के त्यो यसरी फुटेर सही दिशातीर जान्छ त ? यो त प्रलेसले पनि स्विकार गरेको हो र सबै मिलेर लड्ने कुरा हो । के यसलाई फटाएर उहाँहरुले स्खलनतालाई रोक्न सक्नुहुन्छ ? त्यो देखिदैन ।
अर्को प्रलेसमा स्वतन्त्र वाम लेखकहरुलाई सामेल हुन दिइएको छैन र पार्टी निकटकाहरुको सिन्डिकेट छ भनिन्छ, के हो खास कुरा ?
यो बेकारको आरोप हो । यसको विधानमै प्रलेस प्रतिवद्द र अप्रतिवद्द लेखकहरुको संगठन हो भनिएको छ । प्रतिवद्द भनेको राजनितिक पार्टीहरु सम्बद्द सांस्कृतिक संगठनहरु छन् । र अप्रतिवद्द भनेको लेखनमा प्रगतिशील भएका तर सांगठनिक रुपमा कतै संगठित नभएका लेखकहरु भन्ने बुझिन्छ । ती दुवैको संगठन को यो । सरिता तिवारी जि कै कुरा गर्नुहुन्छ भने पनि पहिले त उहाँले पार्टी छोड्नुभउको थियो र उहाँ हाम्रो सचिव हो । त्यस्तै, विनोदविक्रम केसी कुन पार्टीमा हुनुहुन्थ्यो र ? के खगेन्द्र संग्रौला हाम्रो महासचिव बन्नुभएको उदाहरण छैन ? यहाँ त्यस्ता थुपै्र साथिहरुको नाम दिन सकिन्छ । त्यसैले यो बेकारको बनिबनाउ आरोप हो । अब यस्ता बनिबनाउ आरोपहरुको खण्डन गर्नु छैन । ३ वर्षको समयमा उहाँहरुको सक्रियता कस्तो थियो भन्ने कुरा हामीलाई राम्रोसँग थाह छ ।
प्रलेसको आगामी सांगठनिक संरचना कस्तो बन्छ बताइदिनुहोस न ?
यो छलफलकै क्रममा छ । यसपटक वैचारिक मात्रै होइन सांगठनिक प्रतिवद्द लेखहरुलाई मात्रै समावेश गराउने सोचमा छौं । यस पटकको केन्द्रिय कमिटी ३ अंकबाट झारेर दोहोरो अंकको बनाउने सोच बनाएका छौं । प्रदेश कमिटीहरुले आफ्नो अनुसार काम गर्नेछन् भने हामीले जिल्ला कमिटीलाई कार्यकारी बनाएका छौं ।
नयाँ आउने कार्यसमितीले ध्यान दिनुपर्ने विषयहरु के के हुन जस्तो लाग्छ ? तपाइको सुझाव के रहन्छ ?
हाम्रो कार्यसमितीले धेरै कामहरु गरेको भए पनि केही महत्वपुर्ण कामहरु छुटेका छन् । जस्तो प्रगतिशील साहित्यको इतिहास लेखनको कामलाई हामीले आधा बनायौं, पुरा गर्न बाँकी छ । नेपालका सबै विधाका मानक प्रगतिशील साहित्यकारहरुको खोजि गरेर बाहिर ल्याउनुपर्ने छ । त्यस्तै विश्व साहित्यका सन्दर्भमा उठिरहेका धेरै प्रश्नहरुबारे प्रगतिशील क्षेत्रबाट छलफल चलाउनुपर्ने छ । आगामी कार्यकालमा यस्ता केही महत्वपुर्ण काममा साथिहरुले ध्यान दिनुपर्ने देख्छु ।
www.janatasamachar.com बाट साभार 

No comments:

Post a Comment