प्रलेसको वार्षिकोत्सवमा सहभागी भैयो । जनयुध्दकी कमाण्डर सीता विकलाई यो पटक सम्मान गरिएको रहेछ । पूर्वको पहाडमा युध्दमा चिनजान भएकी र ओखलढुङ्गाको रुम्झाटार र सिन्धुलीको भीमान मोर्चामा सँगै भएकी पश्चिम प्युठानकी संझनासँग फेरि एक पटक भेट भयो । आफ्नो मन्तव्यको क्रममा हिजो देखिएका सपनाहरू उल्टिदै गरेको संझेर वहाँ मन्तव्य नै रोकेर रुनु भयो । मलाई पनि सँगै रोऊँजस्तै भएको थियो। ।मन थामें र मनमनै रोएँ । जति मनमनै रोए पनि आँसु त आइहाल्यो । एउटा कविता सुरु गरेको छु- “सीता विकका आँसु”। अक्टोवर क्रान्तिले कलासाहित्यमा परेको प्रभाववारे वेदुराम भुषाल र मोहन वैद्यका कार्य पत्र र सरला रेग्मी तथा श्याम श्रेष्ठका टिप्पणी थिए । सोनाम साथी दाइको मौलिक प्रस्तुति र निनु दाइको गहन प्रश्न थिए । अँ खेम थपलियाको जोडदार स्वागत भाषण र पुष्कर जीको धन्यवाद मन्तव्य पनि अर्थपूर्ण थिए । विप्लवले नेतृत्व गरेको नेकपाको प्रतिनिधित्व गर्ने खेम थपलियाको प्रलेश भक्ति देखे सुनेर धेरैले आश्चर्य प्रकट गरेर जिब्रो झिके । पुष्कर जीले धन्यवाद दिनुभन्दा अलि बढी किन अहिलेको प्रलेस सर्वाधिक कृयाशील छ भनेर प्रमाण पेस गर्नु भयो । समापनको मन्तव्यको क्रममा प्रलेसका विरुध्द उठेका प्रश्नहरूले आतङ्कित नै बनाएको मातृका पोखरेलको मन्तव्यले एक छाँटको रमाइलो जस्तो लाग्थ्यो । त्यसो त प्रश्नहरूको जवाफ स्वरुप मातृका दाईले अन्नपूर्ण पोष्ट र गोरखापत्रबाट जवाफी हमला पनि बोलिसक्नु भएको छ । मेरो वुझाईमा आयोजक साथीहरू चाहिनेभन्दा बढी आतङ्कित हुनु भयो । किन यस्तो भयो भनेर म अलि बुझिरहेको छैन। किन कि- सवैभन्दा विद्रोही भनिएको नेकपाका प्रतिनिधी खेम थपलियाले गर्लम्मै काँध हाल्नु भएकै छ । अर्को एउटा घटक नेकपा क्रान्तिकारी माओवादीका महासचिव कमरेड मोहन वैद्यले आलोचना गरे पनि काँध झिक्ने कुरा गरेका छैनन् । हिजोका दुई वटा शक्तिशाली घटक एमाले र माओवादी केन्द्र जोडिएर बनेको नेकपा चट्टान जस्तै प्रलेस वचाउँन एकजुट छ । केही ससाना नयाँ पार्टी प्रलेसवारे वोलेकै छैनन । जजस्ले प्रलेसको चालु अवस्थावारे प्रश्न उठाएका छन ती सवै दल विहीन छन। जस्तो निनु चापागाईं , ऋषिराज बराल विष्णु भण्डारी या वलराम तिमल्सिना । आगामी सम्मेलनको हलमा समेत छिर्न नदिन सकिने दल विहीनहरूले प्रश्न उठाएर प्रलेस कसरी रोकिन्छ ? छुचो कुरा भन्नु पर्दा प्रलेस शब्दबाट “प्र” झिकिदियो भने खास्सा हुने देखियो। त्यसपछि यो गतिशील लेखक सङ्घ बन्छ ।अहिलेको कार्यकालको समिति गतिशील भएको वारेमा चै कुनै प्रश्न छैन । वाँकि कुरा – यस संस्थामा लाग्ने लेखकहरूले धर्म पनि मान्न पाइने, पूँजिवाद पनि मान्न पाइने, साम्राज्यवादवारे चुप बस्न पनि मिल्ने , बहुलवादकै वकालत पनि गर्ने भएपछि प्रगतिशील शब्द पनि तिनै साथीलाई किन चाहियो ? ती साथीहरू गतिशील या गतिविधीशील होऊँन ।गतिविधीशीलतामा अहिले कसैले वहाँहरूसँग दावीविरोध गर्दैन। अन्तमा कुनै पनि विचार संगठन या शक्ति रहने भनेको त्यसको औचित्यले हो । अहिलेको अवस्थामा प्रगतिशील भनेको के हो भन्ने वारेमा गहन छलफल गर्न प्रलेसले ढोका खोलोस। छलफल पछि समयानुकूल वदल्ने हिम्मत गरोस । म त्यो बहसमा स्वस्थ र मैत्रीपूर्ण रुपमा सहभागी हुन तयार छु । हैन , “मान्छौ भने मान हैन भने जाऊ” भन्ने खालको तामस नरम या गरम जुन रुपमा भने पनि आयो भने खेम जीहरूले बचाएर कति दिन प्रलेस प्रगतिशील होला र खै ?