Monday, September 12, 2016

कुराकानी




कला र अन्तरवस्तुसहितको जनपक्षीय लेखन प्रगतिशील साहित्य हो
- मातृका पोखरेल
कबि / कथाकार एवं अध्यक्ष, प्रलेस केन्द्रीय समिति

(मातृका पोखरेल नेपाली प्रगतिवादी साहित्यमा सुपरिचित नाम हो । वि.सं. २०४४ सालमा ‘सूर्य उदाउ अब’ भन्ने कविताबाट नेपाली साहित्यमा प्रवेश गरेका पोखरेलका हालसम्म ‘सेतो दरबारको छेउबाट (२०५६)’, ‘यात्राको एउटा दृश्य (२०६०)’, र अनुहारहरु (२०६४)’ गरि ३ वटा कविता संग्रह, ‘सन्त्रस्त आँखाहरु (२०६१)’ 'घाम झुल्किनुअघि ( २०६७ )' नामक २ कथा सङ्ग्रह र विभिन्न फुटकर कविता, लेख, समालोचना आदि प्रकाशित भइसकेका छन् । जनवादी सांस्कृतिक आन्दोलनमा लामो समयदेखि क्रियाशील पोखरेल अहिले प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । पोखरेलसंग समसामयिक बिषयहरुको बारेमा खोमा तरामु मगरले गरेको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।)

प्रगतिशील लेखनको अहिलेको अवस्था कस्तो छ र यसको दिशा कस्तो हुनुपर्छ ? 
प्रगतिशील लेखनको अहिलेको अवस्थालाई हामीले समग्र नेपाली साहित्यकै मूलधारको लेखन हो भन्ने हामीले भन्ने गरेका छौं । आश्यक प¥यो भने यो बारेमा हामी पटक पटक छलफल गर्न तयार छौं । प्रगतिशील लेखनमा नयाँ पुस्ताको उपस्थिति अत्यन्तै उत्साहप्रद छ । यसो भन्दैमा प्रगतिशील लेखनमा केही कमजोरी छैनन् भन्न खोजेको होइन । प्रगतिशील लेखनमा पनि केही प्रशस्तै कमजोरीहरु रहेका छन् । प्रगतिशील साहित्यमा सबै बिधाको समान ढंगले विकास भएको छैन । कविता र कथा प्रशस्तै लेखिएका छन् । उपन्यास पनि लेखिएकै छ । नाटक बिधा अत्यन्तै कमजोर छ । रुप पक्ष हावी हुँदा अन्तरवस्तु कमजोर हुने र अन्तरवस्तु हावी हुँदा रुप पक्ष कमजोर हुने समस्या पहिल्यै देखिको समस्या हो । हाम्रो आन्दोलनमा यो समस्या अझैसम्म राम्ररी हल हुन सकेको छैन । 
समाजमा आउने परिर्वतन सँगसँगै हामीले उठाउने बिषयहरुमा पनि परिवर्तन आउँछ । हिजो राजतन्त्र थियो । ऊ सामन्तवादको नाइके थियो । आज राजतन्त्र ढलेको छ । राजतन्त्र ढले सँगसँगै सामन्तवाद कमजोर हुने र पुँजीवाद फस्टाउने आधार तयार हुनु स्वभाविक हो । यसले गर्दा प्रगतिशील लेखनको बिषयहरु परिवर्तन हुँदै जानु स्वाभाविकै हो । 
प्रगतिशील साहित्य जनपक्षीय वा जनताको साहित्य हो । प्रगतिशील साहित्यले सामाजिक दायित्वलाई प्राथमिकतामा राख्दछ । सामाजिक दायित्वबाट बिमुख हुने साहित्य प्रगतिशील साहित्य हुन सक्दैन । यसलाई केन्द्रमा राखेर प्रगतिशील लेखनको बिषय दिशा निर्धारण गरिनुपर्दछ । 

यहाँ विगत लामो समयदेखि कविता र कथा लेखनमा हुनुहुन्छ, पुराना र नयाँ पुस्ताको लेखनमा पाइने भिन्नता के हो ? 
मेरो कविता लेखनको यात्राले साढे तीन दशकको समय लिइसकेको छ तर कथा लेखन मैले धेरैपछि मात्र सुरु गरेको हुँ । कथा लेखनमा हात हालेको पनि दुई दशक भयो । कथा र कविता लेखनमा मेरो उपस्थिति पुरानो र नयाँको बीचको पुस्ताको हो जस्तो लाग्छ  । मैले कविता बिधाको लेखनमा प्रवेश गरेको समयदेखि यहाँसम्म आइपुग्दा धेरै परिवर्तन भएको महसुस गरेको छु । तर, कथामा त्यो मात्रामा भिन्नता देख्दिनँ । मूलतः कलाको पक्षमा नयाँ आएका कविहरुले महत्वपूर्ण हस्तक्षेप गरिरहेका छन् । प्रगतिशील कविता लेखनमा यो पक्ष प्रष्ट देखिन्छ । कथा लेखनमा युवा पुस्ताको उपस्थिति बढ्न सकेको छैन । केही त आएका छन् तर पर्याप्त छैनन् । नयाँ आएकाहरुले पनि कथामा नयाँ प्रयोग र खोजी गरिरहेका छन् । बिषयहरु पनि नयाँ नयाँ भएकोले नयाँ स्वादका कथा लेखिएका छन् । नेपाली समाजलाई उथलपुथल पार्ने गरि जनयुद्ध भयो र त्यसले परिवर्तनको एउटा खाका को¥यो । नेपाली कथामा यी बिषयहरु आएपनि अझै लेख्नुपर्ने धेरै पक्षहरु बाँकी छन् । पुरानो पुस्ता र नयाँ पुस्ताका स्रष्टाहरुका बीच प्रष्ट रुपमा देखिने र बुझिने गरि भिन्नता पाइन्छ ।  

अहिले बजारले चर्चामा ल्याएका पुस्तकहरुको वैचारिक गुणवत्ता र स्रष्टाहरुको स्तर कस्तो पाउनु भएको छ ? 
मूलतः हामीले बजार कसको हातमा छ ? भनेर बुझ्नुपर्दछ । बजार जसको हातमा छ, उनीहरुले आफ्नै अनुकूलका कृति र स्रष्टालाई चर्चामा ल्याउँछन् । एउटा कुरो के प्रष्ट छ भने सामाजिक दायित्वप्रति सचेत रहेका स्रष्टा र कृतिहरु प्रति अहिलेका ठूला भनिएका मिडियाहरु र बजार विरुद्धमा छ । त्यो हुनु स्वभाविक पनि हो । ठूला मिडियाहरु सचेतनापूर्वक स्थापना गरिएका छन् । उनीहरु आफ्नो वर्ग पक्षधरता पनि सचेत छन् । उनीहरुले बढी हल्लीखल्ली गरेर स्थापित गर्न खोजेका कृति र स्रष्टा प्रगतिवादी साहित्यलाई बल पु¥याउने पटक्कै छैनन्  । त्यस्तो होस् भनेर माग गर्नु, चाहना राख्नु पनि हाम्रो बुझाईको समस्या हो । हाम्रो प्रगतिशील साहित्यकार साथीहरुको म कहिलेकाँही गुनाँसो सुन्ने गर्छु  । आफ्नो वर्गकाले आफ्नो वर्गकालाई हित गर्नु स्वभाविकै हो । विचारधारामुक्त मिडियाको माग गर्नु पनि हाम्रो वैचारिक कमजोरी हो भन्ने मलाई लाग्छ । त्यसैले अहिले बजारमा हल्लाखल्ला गरिएका कृतिहरुलाई हामीले त्यसैगरि नै बुझ्नुपर्छ जस्तो मलाई लाग्छ । उनीहले आफ्नो अनुहार लुकाउन कहिलेकाँही एकादुई राम्रा कृतिहरु पनि नल्याएका होइनन् । तर प्रायःजसो सोद्देश्यमूलक, समाज र जीवनको परिवर्तन चाहने कृति र कृतिका स्रष्टाहरुलाई अहिलेको ठूला मिडियाले र बजारे प्राथमिकतामा पार्दैन । अहिले पनि त्यस्तै भइरहेको छ । 

वैचारिक छलफल एवं सिर्जनात्मक गतिविधिका दृष्टिकोणले प्रलेस केन्द्रमुखी भयो भन्ने गुनासो छ, जिल्लाहरुको हकमा पर्याप्त ध्यान नपुगेको हो ?
यो गुनासो अहिले देखिको होइन, पहिलेदेखि कै हो । यो गुनासोका बारेमा हामी सचेत पनि छौं । अबको देशको संघीय संरचनाले यो गुनासोलाई केही मत्थर गर्ला जस्तो मलाई लाग्छ । अब प्रदेश समितिको भूमिमा आफैमा महत्वपूर्ण हुन्छ  । दसौं राष्ट्रिय सम्मेलनपछि बनेको यस समितिले केन्द्रभन्दा बाहिरका कार्यक्रमलाई बढ्तै महत्व दिने योजनाहरु बनाएको छ । मलाई लाग्छ, अब यो गुनासो पक्कै मत्थर हुदै जानेछ । यसपटक देखि प्रलेसले विभिन्न विभागहरु बनाएको छ । विभागहरुले विभागीय निर्णयहरु गरेका छन् । जिल्लाहरुलाई कार्यक्रम राख्न केन्द्रबाट बरोबर उत्प्रेरित गरि राखिएको छ र जिल्लाहरुमा कार्यक्रम राख्ने क्रम बढेर गएको छ ।  

अहिले भाषिक–सांस्कृतिक एवं पहिचानका मुद्दाहरु लेखनमा सशक्त बनेर आएका छन् । प्रलेसले यसको मुद्दा कसरी सम्बोधन गर्नुपर्छ ? 
अहिले भाषिक, सांस्कृतिक एवं पहिचानका मुद्दाहरु लेखनमा सशक्त बनेर आएका छन् । प्रगतिशील आन्दोलनभित्र पनि यो बिषयलाई हेर्ने फरक फरक धारणाहरु छन् । कतिपयले पहिचानको मुद्दाले प्रगतिवादी आन्दोलनलाई कमजोर बनाउँछ भनेर तर्क पनि गरिरहेका छन् । कतिपय मुद्दा ओझेलमा परेको तर्क पनि गरिरहेकै छन् । तर, यो बिषय यतिबेला छलफलमा प्रवेश गरेको मात्र होइन, नयाँ पुस्ताका लेखनहरुको एउटा ठूलो समूहले यसभित्र समाहित भइसकेको छ । नेपालको पछिल्लो अवस्था समाजिक, सांस्कृतिक परिवर्तनको अवस्था पनि हो । हाम्रो आन्दोलनमा पहिचानलाई जातीय रुपमा मात्रै व्याख्या गरिएको छ । त्यसो गर्नु एउटा भूल हो । पहिचान भौगोलिक, सांस्कृतिक, आर्थिक, भौतिक पनि हुन्छ । वर्गीय संघर्षभित्रैबाट यो मुद्दाहरुको हल खोजिनुपर्छ । वर्गसंघर्षलाई प्राथमिकतामा नराखेर पहिचानको आन्दोलनलाई मात्र केन्द्रमा राख्न खोजियो भने त्यसले माक्र्सवादी आन्दोलनलाई कमजोर बनाउने खतरा पनि छ । यसतर्फ हामी सबै प्रगतिशील लेखकहरु सचेत हुनुपर्दछ । नेपालमा आएका विभिन्न परिवर्तनले पहिचानको मुद्दालाई टड्कारो बिषयका रुपमा छलफलमा ल्याएपछि साहित्यमा आउनुलाई अन्यथा मान्नु हुँदैन । आगामी कार्यक्रमहरुमा प्रगतिशील लेखक सङ्घले प्राथमिकताका साथ यो बिषयलाई छलफलमा लैजान जरुरी छ । 

तपाई अहिले प्रज्ञा प्रतिष्ठानको सदस्य हुनुहुन्छ, प्रलेसको केन्द्रीय अध्यक्ष पनि । अहिले भाषामा देखिएको विवाद के हो र गणतन्त्र प्राप्तिपछि पनि प्रतिष्ठानमा पञ्चायती विरासत तोड्न प्रलेसको भूमिका कमजोर भएको गुनासो छ नि ?
नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य र प्रगतिशील लेखक सङ्घको अध्यक्ष दुबै हुनु विरोधाभास कुरा हो भन्ने कुरा धेरै साथीहरुलाई लागेको छ । अझ यो धारणा प्रगतिशील लेखक सङ्घको दसौं राष्ट्रिय सम्मेलनमा जोडदार रुपमा उठेको थियो । मैले अहिलेसम्म कुनै समस्याको महसुस गरेको छैन । नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आन्दोलनबाटै आएको नेतृत्व छ । अरु साथीहरु पनि आन्दोलनबाटै आउनु भएको छ । तपाईले उठाउनु भएको जस्तो अहिले पनि त्यहाँभित्र पञ्चायती विरासत पूर्णतः कायमै छ भनेर बुझ्न थालियो भने हामी सही निष्कर्षमा पुग्न सक्दैनौं । इतिहासलाई हेर्ने सवालमा केही फरक मान्यताहरु हाम्रा बीचमा होलान् । हामी छलफल चलाउँदै नेपाल प्रज्ञा–प्रतिष्ठानलाई पनि परिवर्तनको आभास दिने प्रयत्न गर्दैछौं । भाषाको बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ठोस् धारणा केही समयभित्रै ल्याउँदै छ । 

अन्त्यमा, प्रलेसको आगामी योजनाहरु के के छन् ?
हामी यही असोजको पहिलो हप्तामा केन्द्रीय समितिको बैठक बसेर हाम्रा कार्यक्रमको बार्षिक तालिका बनाउँदै छौं । यसका लागि सातै प्रदेशबाट प्रलेसमा साथीहरुको धारणा संकलन गर्दैछौं । प्रलेसमा अहिले विभिन्न विभागहरु बनेका छन् । तिनीहरुले पनि बैठक बसेर सिर्जनात्मक कार्यक्रमहरु अघि सारेका छन् ।  


०००

साभार -
प्रलेस रुपन्देही, अङ्क -२
२०७३ भदौ 

No comments:

Post a Comment