Thursday, May 2, 2019

छोडेर जानेहरूका नाममा - जनक रसिक

प्रगतिशील लेखक संघ ( प्रलेस ) को एघारौ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा केही थान कवि लेखकहरू र केही थान तिनका समर्थकहरूको संयुक्त वहिर्गमनको घोषणा सँगै नेपालमा वाम–विचारकहरूको एक मात्र साझा मञ्च ध्वस्त भएको छ । सामाजिक सञ्जालमा देखिएको बहिर्गमितहरूको घोषणपत्रमा कवि लेखकहरूको स्वतन्त्र समुह जस्तो देखिए पनि त्यसमा विगतमा प्रलेसमा हिस्सेदारी लिईरहेका केही दलका सांस्कृतिक मोर्चाको सिंगै टोली पनि थियो । लगत्तै प्रलेसको हिस्सेदार अर्को सांस्कृतिक घटकले पनि प्रलेससँग साईनो तोडेको घोषणा सामाजिक सन्जालमा हुत्यायो । एक मात्र सदस्य रहेको अर्को हिस्सेदार मोर्चाले सम्मेलन स्थलबाटै आफ्नो एक सदस्यिय सिंगै मोर्चा बाहिरिएको घोषणा ग¥यो । स्मरणीय कुरा –एक न्युन सदस्यीय मोर्चा दशौं सम्मेलनबाटै बाहिरिएको थियो । अर्थपूर्ण लेखकहरूको एकल आगमन–निगमनले खास अर्थ नराख्ने तर निस्क्रिय नै भए पनि मोर्चा÷घटकको आवत–जावतले महत्वपूर्ण अर्थ राख्ने दुःखद संस्कार प्रलेसले अँगाल्दै आईरहेको छ । मोर्चाहरूको मात्रै कुरा गर्नेहो भने पनि अहिलेको बहिर्गमनमा सामेल मोर्चाहरूका सदस्यहरूको आयतन सानै हो । ठूलो आयतनको मोर्चा प्रलेसमै छ । तर प्रलेसलाई ‘वामपन्थी लेखकहरूको साझा मञ्च’ बनाउनको लागि ती सबै मोर्चाहरूको उपस्थिति समान महत्वको थियो । त्यही साझा विरासतको आडमा कवि–लेखकहरू आफ्नो एकता देखाएर बिभाजित पार्टीका ठूलाठाला नेताहरूलाई समेत गर्वका साथ जिस्क्याईदिन सक्थे, पाठ पढाईदिन सक्थे । अव त्यो मेसो समाप्त भएको छ । कुनै भट्टी पसल या कुनै पुजीपतिका ब्यानर मुनि बाहेक बिभाजित मानसिकताका यी लेखकहरू अव केही वर्ष एउटै मञ्चमा कतै देखिने छैनन् ।
पछिल्लो समय राष्ट्रिय राजनीति सँगै वामपन्थी दलहरूमा असाधारण उतारचढाव आए । बाटाहरू निकै घुमाउरा बने । उद्देश्य, रणनीति, कार्यनीति सबैमा बिविधता देखियो । यिनै बिभाजनको आँधीमा कवि–लेखकहरू पनि बिभाजित भए । उन्मक्त दलीय सत्ता र तिनका हर्ताकर्ताले कवि–लेखकहरूको ‘मधूरो क्रन्दन’ सुन्ने कुरै भएन । कवि–लेखकहरूले आफ्नो असन्तुष्टी, आक्रेस, घृणा पोख्ने ठाऊँ यही प्रलेस देखे । उनीहरूले राज्यसत्ता भन्दा बलियो सत्ता प्रलेस ठाने –मानौ सत्ता–राजनीतिका हरेक उतारचढव प्रलेसले चलाईरहेछ । अन्ततः प्रलेसको छातिमा पैतला बजारे । यो समय जसले प्रलेसलाई बढी से बढी गाली गर्न सक्छ, जस्ले यस्को अन्तर्यका बढी से बढी कमजोरी सामाजिक सञ्जालमा फिजाउन सक्छ, जस्ले यस्का अति साधरण अनुशासन तोडेर दौडिन सक्छ उही ‘अच्छा क्रन्तिकारी लेखक’ ठहर्ने मीथक तयार भयो । हुन त यो देशमा कम्युनिष्ट बिचारधाराका लेखकहरूले खुलेर बोल्न पाउने सुरक्षित ‘ठाउँ र विषय’ प्रलेस बाहेक अन्त कहाँ के नै छ र ? र पनि उनीहरूले सजिलै सम्झिएको र बिर्सिएको सत्य के हो भने “प्रलेस राज्यसत्ता हैन ।”
प्रलेस स्थापनाको उद्देश्य गलत थिएन । रणनीति गलत थिएन । गर्नुपर्ने कतिपय काम गर्न नसकेको कमजोरी बाहेक गरेका अधिकांश कामहरू गलत थिएनन् । गर्नुपर्ने केही कामहरू र सुधार्नु पर्ने केही कमजोरीहरू अवस्य छन् । र त्यो काम लेखकहरूले नै गनुपथ्र्यो । लेखकीय संस्थाको सुधार सच्चा र सशक्त लेखकहरूले नगरे कस्ले गर्ने ? तर त्यसको ठोस प्रयास प्रलेस ‘छोडेर जानेहरू’ बाट भएको देखिएन । पछिल्लो एक दशक प्रलेस मञ्चमा सामुहिक रुपमा बागी आवाज कहिल्यै उठेन, सुधारको ठोस एजेण्डा आएन, नोट अफ डिसेन्ट कसैले लेखेन । जिम्मेवारीहरूको पूर्ण वहन कसैले गरेन । सम्मेलनका बखत हुने ठेकेदारी अस्विकार गरिएन । प्रलेसका केही खास खास प्रक्रिया र कार्यनीतिहरू सुधार गर्नुपर्छ भन्नेहरूको ठूलो संख्या अहिले पनि प्रलेस भित्र छ । यदि त्यो आवाज एकतृत गरेर सम्मेलनको वेला गरिने अगतिलो ठेकेदारीको मात्र विरोध गर्न सकेको भए सक्रिय लेखकहरूको शक्ति माथी हुने थियो । तर त्यस्तो प्रयास कहिल्यै गरिएन । अझ हास्यास्पद त के छ भने समिती निर्माणको गठजोडमा पटक–पटक ठेकेदार बनेकाहरूले ऊ वेला दूरदराज बाट आएका ईमान्दार लेखकहरूलाई दूखी बनाएर फर्काए, ऐले प्रलेसलाई नै छियाछिया बनाईदिए । प्रलेसको लागि ती ठेकेदारहरू ‘पप्पु डन’ भन्दा पनि खतरनाक निस्के ।
यस्ता बिविध तथ्यहरू विचारै नगरी केही खेस्रा झुण्ड देखाएर विश्वासिला लेखकहरू बाहिरिए । प्रलेस भित्र बस्दा कहिल्यै नजिक हुन नसकेका व्यत्तिहरू प्नि बाहिरिदा एकाकार जस्तो भएर निस्किए । कुरा प्रष्ट छ –उनीहरूको एकता आगामी यात्राका लागि किमार्थ हैन । बाहिरिनुका कारण सबैका एउटै थिएनन्, उद्देश्य एउटै थिएन । कोही लेखकीय–सिर्जनात्मक–वैचारिक असन्तुष्टीका कारण बाहिरिएका थिए भने कोही दलीय ह्वीपका कारण । प्रलेस भित्र बसेको समुह र बाहिरिएको समुहको संरचनात्मक चरित्र उस्तै हो । जसरी प्रलेस भित्र अमुक दलहरूको नीति सोझै लादिन्छ भन्ने आरोप छ, ठीक त्यस्तै बाहिरिनुमा पनि दलीय निर्णयको महत्वपूर्ण प्रभाव छ । जसरी प्रलेस भित्र ‘राम्रो लेख्ने’, ‘लेख्न खोज्ने’, र ‘लेखेजस्तो गर्ने’ हरूको भीड छ, ठीक त्यस्तै बाहिरिएको भीडमा पनि छ । अझ केही ‘पात्र–नायक’हरूले त दलीय सत्ता वा सत्ता राजनीतिमा अवसरको गठजोड नमिलेको झोक प्रलेसमा पोखेका हुन । दलीय सत्ता सुधारका लागि मेहनत गर्नु उनीहरूको खास दायित्व हुनुपथ्र्यो । त्यसमा उनीहरू पूर्णतः शक्तिहीन सावित भए । अन्ततः किनारको निरिह प्रलेसलाई उनीहरूले भंगालोमा धकेलिदिए । यस्ता बिविध चरित्रका पात्रहरू प्रलेसको ढोकाबाट सँगै निस्किएका मात्र हुन । घरको ढोका देखि आगनको गेटसम्म बाटो एउटै हुन्छ । त्यहाँसम्म उनीहरू एकताबद्ध जस्ता देखिनेछन् । गेट बाहिर हिड्ने बाटाहरू अलग–अलग हुनेछन् । यदि आगामी दिनमा प्रलेस बाहिर यस्तै कुनै अर्को औपचारिक मोर्चा बनेछ भने त्यसमा पनि बिधान बन्नेछ, संरचना बन्नेछ, मापदण्डहरू बन्नेछन । समयसँगै ती संसोधन परिवर्तन हुनेछन्, व्यक्तीहरू हावी हुदै जानेछन् र व्यक्तिगत स्वार्थ र असन्तुष्टीकै कारण त्यो प्रलेसझैं धरापमा पर्नेछ । उसो भए नयाँ संगठन बनाउनुको के अर्थ ? 
विगत, वर्तमान र भविष्यका सम्भावित घटनाहरू आँकलन गर्दा केही पात्र–नायकहरू ‘संगठनविहीनता’को सैद्धान्तिक निष्कर्शमा पुगेजस्ता देखिन्छन । पञ्जामा कैद गर्न मिल्ने साना संगठन चलाउन सिपालु उनीहरू ठूलो संगठन देखेर डराएका छन । हिजोसम्म “शेरलाई संगठन चाहिदैन” भन्ने सिके लाललाई गाली गरी नथाक्ने पात्र–नायकहरू आज आफै त्यो बिन्दुमा पुगेका छन् । नियती र नतिजा जेसुकै होउन, घटनाहरू ठीक भएका छैनन् । घटनाहरूको निष्कर्श के छ भने –“प्रलेस आफैमा एक अमूर्त कुरा हो । यो आफैमा गलत हैन । यसलाई धेरैतिर बाट बिगार्न खोजियो, सुधार्न खोजिएन ।” 
ठूलो संगठनमा सबै व्यक्तिका चरित्र समान हुदैनन् । जानेहरूले एकाध व्यक्तिका चरित्रलाई सिंगो प्रलेसकै चरित्र ठाने । अर्को हास्यास्पद कुरा के छ भने उनीहरूले निरन्तर कोरा सिद्धान्तका वहस गरे । तर आफुहरू सहित औसत व्यक्तिका दैनिक व्यवहारहरू प्रति कर्के नजर पनि लगाएनन् । सिद्धान्त कस्ले कति पढेको जानेको छ, त्यो फरकै कुरा तर दैनिकी र व्यवहारहरूमा जाने र बस्नेहरूमा खास अन्तर केही छैन । भट्टीपसलमा बसेका बखत पिउने शैली उस्तै देखिन्छन् । कोही धर्म–महासंघको मन्त्र जपेर पिउन या कोही डेनिस बियरका ‘ट्याग–प्रिन्ट’ टी–सर्ट लगाएर पिउन, रक्सी रक्सी नै हो । रक्सीको असर भन्दा बढी ‘लेवल’ र ‘होलोग्राम’मा बहस केन्द्रित देखियो । सार्वजनिक सभसमारोहमा जाँदा पहिरिने ज्याकेट–जुत्तामा खास अन्तर देखिदैन । घरदैनिकीका आभूषण–बिभूषणमा उस्तै मेलोमेसो छ । जिन्सी खरखजानाको मोह उस्तै छ । मजदूर–किसानका अनुहार नदेखेका तर उनीहरूका विरह लेखिटोपल्ने क्रन्तिकारी कवि दुवैतिर छन् । यस्ता तथ्यहरूको माझमा सिद्धान्तका रटानको के अर्थ ?

हिजो सम्म सम्झिएर वा बिर्सिएर देशैभरका कम्युनिष्ट नामधारीहरू एकैठाउँमा उभिन सक्ने एक साझा मञ्च तयार थियो । अलिअलि विचार मिल्ने लेखकहरूको एकता जस्तो देखिने मोर्चा थियो । देशमा प्रगतिशील लेखक संघ नामको ‘सब से बडा’ साहित्यिक समुह थियो । सानै–थोरै भए पनि त्यसको नाममा निरन्तर गतिविधीहरू ह्ुन्थे । समय–समयमा मिडियाको कुनै कुनामा प्रलेस देखिन्थ्यो । दूरदराजमा लेख्न खोज्ने ‘स–साना’ मान्छेहरूले देशका ‘बडे–बडे’ लेखकका अनुहार हेर्ने निहु पाएका थिए । आन्तरिक रुपमा जतिसुकै कमजोर भयो भनिए पनि जिल्ला–गाऊँसम्मै त्यसको अस्तित्वको वलियो प्रभाव थियो । फरक वैचारिक खेमाहरूलाई त्यो ठूलो दूख थियो । यथास्थितिवादी, प्रतिध्रुववादी र जडशुत्रवादीहरूको चैन हरेको थियो त्यसले । मञ्च, मिडिया वा सामाजिक सञ्जालमा ‘प्रलेस’ देख्ने वित्तिकै उनीहरूका आँखाले ‘रातो आगो’ र ‘गाढा अँध्यारो’ एक्कै पटक देख्थे । विडम्वना ! अहिलेलाई प्रलेसको ‘साझा विरासत’ भत्केको छ । भत्काएर जानेहरूलाई त यस घटना बाट केकस्तो नाफा–घाटा हुन्छ, थाहा छैन तर प्रलेसको वलियो अस्तित्वसँग वर्षौदेखि तर्सिएर बसेकाहरूको चैन फिर्न थालेको छ । प्रलेससँग गोरु ब्ेचेको साईनो पनि नभएकाहरू यसको क्षयीकरणबाट औधी रमाएका छन् । पल्लो किनारबाट रमिता हेर्नेहरू हौसिएका छन् । तिनीहरूले नै बाहिरिनेहरूलाई ‘स्यावास’ भनिरहेका छन् । हिजोसम्म आफैले यथास्थितिवादी, जडशुत्रवादी, सामन्तवादी, साम्राज्यवादका हिमायती लगयतका उपमा दिएकाहरूले नै सामाजिक सञ्जालमा अनेक तरहले हौस्याईरहेका छन् । तिनैका फेसबुके कमेन्टमा रमाएर ‘छोडेर जानेहरू’ ठूलो युद्ध जितेको महसुस गरिरहेका छन् । अर्कोतिर पार्टीसत्तामा गतिलो अवसर नपाएको झोंकमा सिंगौरी खेलिरहेकाहरू क्ेही थान मनुवाहरूले आफ्ना सिङ ठोक्काउने अर्को गतिलो कान्ला भेटाएका छन् । 

केही थान लेखकहरू छन प्रलेस भित्र ( बाहिर पनि होलान् ) जो कुनै पदप्राप्ती वा भविष्यमा लाभका सिंडी चढ्ने लोलुपताले यहाँ सामेल भएका हैनन् । जो यसलाई विशुद्ध आन्दोलन सम्झेर आए । वलियो एकाताबाट आफ्ना मूल्यमान्यताहरू स्थपितगर्न सहज हुने ठानेर आए । जो केही अशल सिक्न र गर्न चाहन्छन् । जोसँग समाजको तल्लो वर्गका दूखद अनुभूतिहरू छन र तिनको अन्त्यको सपना उनीहरू सँग छ । अहिलेको क्षयीकरणबाट सबैभन्दा दूखी तिनै ‘साना ठानिएका’ ईमान्दार लेखकहरू छन् । आज पनि प्रलेस ‘अच्छा–खासा’ भन्न लायकको छैन । कमीकमजोरी छन् । तर तिनीहरूलाई सुधार्ने दायीत्व पनि हाम्रै हो । यसको आशय प्रलेसले बाटो बिराउदा पनि उसको पुच्छर समातेर भीरपखेरा हाम फाल्नुपर्छ भन्ने कदापी हैन बरु पिठ्युमा कोर्रा हिर्काएर सही बाटो डो¥याउनुपर्छ भन्ने हो । तर बाहिरिनेहरू यस्ता ठोस प्रयासै नगरी थकित गलित जस्ता भएर गए । उनीहरू भावनामै बहेर गए । अझ केही पात्र–नायकहरूमा –आफुले नेतृत्व पाए मात्र सुधारको प्रयास गर्ने नत्र पल्लो किनारमा बसेर सत्तोसराप गर्ने ‘संग्रौलावादी मान्यता’ पुनरागमन भएको पनि देखियो । र आजको गम्भीर प्रश्न छ –“एउटा सजिलो–प्रलेस सुधार गर्न नसक्ने योद्धाहरू उनीहरूले नै उद्घोष गरेको राष्ट्रीय अन्तराष्ट्रीय सामन्तवाद, दलाल साम्राज्यवाद, अर्थबजारीकरण बिरुद्धको लडाई कसरी लड्लान् र विजय हासिल गरेर रणभूमिबाट फर्केलान् ?”

अन्तमा, साठी नाघेको प्रलेस घटनाहरूबाट दूखित अवस्य होला । यसलाई रोग र शोकका कारण थला पर्न दिनुहुन्न । अहिले नै यसलाई चाहिएको गतिलो ओखती भनेकै प्रष्ट रणनीति, कार्यनीति र गतिशीलता नै हुन् । सशक्त कला–विचार–सिर्जनाको उर्जावान टोनिक यसलार्ई थप आवस्यक छ । कारणवस बाहिरिएका तर इमान्दार, गतिशील र क्षमतावान सर्जकहरूलाई पुनः स–सम्मान मञ्चमा उभ्याउनु ढिलो गर्नुहुन्न । प्रलेस दह्रो–बलियो भएर लामो यात्रा दौडिनु बाँकी नै छ ।

(लेखक प्रलेस सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष हुन् ।)

No comments:

Post a Comment