Monday, April 1, 2019

प्रगतिशील विचारका नाममा लेखकहरु विभाजित

काठमाडौँ — वामपन्थी र प्रगतिशील विचारधारा राख्ने लेखक, साहित्यकारको साझा संस्था ‘नेपाल प्रगतिशील लेखक संघ’ विभाजित भएको छ । संघमा आबद्ध ३८ जना लेखक, साहित्यकारले वर्तमान नेतृत्व सत्ताको निकट भएको र संघको भावनाअनुसार अघि बढ्न नसकेको भन्दै नयाँ मञ्च निर्माण गर्ने घोषणा गरेका छन् ।

उनीहरूले ‘अग्रगामी सांस्कृतिक आन्दोलनका लागि साझा मञ्च निर्माणको पहल गरौं’ भन्दै शनिबार अपिल जारी गरेका छन् ।
संघको नयाँ नेतृत्व चयनका लागि आउँदो चैत २२ र २३ गते काठमाडौंमा ११ औं राष्ट्रिय सम्मेलन हुने तयारी थियो । सम्मेलनको पूर्वसन्ध्यामा सल्लाहकार परिषद् सदस्य आहुति, ईश्वरचन्द्र ज्ञवाली, प्राध्यापक जगदीशचन्द्र भण्डारी, प्राध्यापक ताराकान्त पाण्डेयलगायत कार्यसमितिमा रहेका ३८ जनाले विज्ञप्ति जारी गर्दै संघ साझा मञ्च हुन नसक्ने उल्लेख गरेका छन् ।
‘प्रगतिशील लेखक संघमा मार्क्सले भनेजस्तै त्यही शासकवर्गीय सांस्कृतिक विचारका प्रतिनिधिहरूको प्रभुत्व कायम हुन पुगेको छ । प्रलेसको दसौं राष्ट्रिय सम्मेलनपछिको मूल नेतृत्व, उसका विचार, गतिविधि र ११ औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्याको तयारीमा भइरहेका व्यवहारबाट यस संस्थाले पूर्णतः आजको सरकार, सरकारी पार्टी र त्यसको वैचारिक प्रतिनिधिका रूपमा आफूलाई अपघटित गरिसकेको पुष्टि हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक रूपमा संकुचित प्रलेस आजको संसद्वादी, संशोधनवादी/नवसंशोधनवादी तथा अवसरवादी धाराको सत्ताको भ्रातृसंगठनमा फेरिइसकेको छ ।’
उनीहरूले फरक विचार राख्ने, आलोचनात्मक चेत भएका, वैचारिक बहस उठाउने र अग्रगामी सांस्कृतिक आन्दोलनमा जोड दिने पंक्तिलाई निरन्तर निषेध गर्ने प्रवृत्तिले उत्कर्ष लिएको आरोप लगाएका छन् । ‘वैचारिक तथा व्यावहारिक रूपमा प्रलेसको मूल नेतृत्वले ११ औं सम्मेलनअगावै संगठनलाई एकलकाँटे, एकपक्षीय र उस्तै स्वार्थ मिल्नेहरूको अड्डामा बदलिसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
संघका अध्यक्ष मात्रिका पोखरेलले भने संघका गतिविधिमा नियमित नजोडिने र बेलाबेखत देखा फर्नेहरूले असन्तुष्टि व्यक्त गर्नुको अर्थ नहुने बताए । ‘वत्तव्य जारी गर्नेहरूमध्ये अधिकांश संघको काममा जोडिनु नै नभएका, विभिन्न सम्मेलनमा प्रमुख अतिथि बन्न नपाएर फन्किनु भएकाहरू हुनुहुन्छ,’ पोखरेलले भने ।
सरकार र सत्तारुढ दलको भ्रातृसंगठन जस्तो भयो भन्ने उनीहरूको आरोपको पोखरेलले खण्डन गरे । ‘कुनै पनि ठाउँमा सरकारको पक्षमा गतिविधि गरेको छ भने देखाइदिन म चुनौती दिन्छु,’ पोखरेलले भने, ‘सामन्तवाद र साम्राज्यवादका कुरा गर्नुहुन्छ तर साम्राज्यवादीहरूले नै लगानी गर्ने विभिन्न लिचरेचर फेस्टिझलमा वक्ता र आयोजक बनेर हिँड्नुहुन्छ । त्यस्ता व्यत्तिले संघलाई आरोप लगाउने आधार कति छ ? यो उहाँहरूको ढोंग हो ।’
असन्तुष्टहरूले चार सयभन्दा बढी सदस्य रहेको काठमाडौंको जिल्ला सम्मेलनका लागि ७० जनाले मात्र नवीकरण गरेको दाबी गरेका छन् । तर पोखरेलले ५ सयको सदस्यता नवीकरण भएको दाबी गरे । कम्युनिस्ट पार्टीहरू विभिन्न चिरामा विभक्त भए पनि संघमा भने सबै वाम विचारधारा राख्नेहरू रहने गरेका थिए । २००९ सालमा श्यामप्रसाद शर्माको नेतृत्वमा देशभक्त, वामपन्थी विचारधारा राख्ने स्रष्टाको समूह गठन भएको थियो । त्यसैको निरन्तरता स्वरूप यो संघ चलिरहेको छ ।
संघमा हाल विभाजन भएका विभिन्न कम्युनिस्ट घटकहरू निकट व्यक्ति आबद्ध छन् । असन्तुष्टमध्येका आहुति नयाँ पार्टीका गठन प्रक्रियामा छन् । असन्तुष्टि राख्ने अन्यमा नारायण ढकाल, मित्रलाल पंज्ञानी, राजबहादुर कुँवर, रोशन जनकपुरी, विजयराज आचार्य, सरिता तिवारी, राजु स्याङतान, संगीत श्रोता, अनिल श्रेष्ठ, अर्जुनकुमार ढकाल, ईश्वरी ओझा, कल्पना चिलुवाल, खगेश्वर भण्डारी, गुरुङ सुशान्त, गोपाल वैद्य, गोविन्द काफ्ले, गौरी दाहाल, छायादत्त न्यौपाने, जितबहादुर लामा, दीपक सापकोटा, परशुराम कोइराला, प्रमोद धिताल, मोदनाथ महरा, यज्ञबहादुर डाँगी, रमन पौडेल, विदुर वस्ती, विनोदविक्रम केसी, विमला चन्द, विष्णुमाया न्यौपाने, बैजनाथ ठाकुर, शकुन्तला जोशी, शैलज पौडेल, श्याम शाह रस्वप्निल स्मृति छन् ।

-कान्तिपुर
www.swadeshnepal.com बाट साभार 

No comments:

Post a Comment